असार ३२ गते २०८१

पोखरामा माध्यमिक शिक्षा परीक्षा एसइइको समीक्षा, शिक्षण सिकाईमा योग, ध्यान र प्रणायम आवश्यक

पोखरा ३१, असार
कमल पौडेल अथक
पोखरामा माध्यमिक शिक्षा परीक्षा एसइइको समीक्षा गरिएको छ । प्रदेश शिक्षा विकास निर्देशनालयको आयोजनामा सो समीक्षा गरिएको हो । समीक्षा कार्यक्रमको शुरुवात योग, ध्यान र प्रणायमवाट गरिएको थियो । योग गुरु गंगा पोखरेलले सहभागीलाई १ घण्टा योगाभ्यास गराएपछि कार्यक्रम समीक्षामा परिणत भएको थियो ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले शिक्षाको अवस्था सुधार्न प्रदेश सरकारले हरसम्भव प्रयास गरेको वताए । उनले शिक्षा नै समाजको ज्योति भएकोले नैतिक मूल्य र मान्यता सहितको शिक्षा आजको आवस्यकता भएको वताए ।
समीक्षा कार्यक्रममा ११ जिल्लाका शिक्षा इकाई प्रमुख, पूर्व प्रमुख, सामाजिक विकास कार्यालयका प्रमुखहरु, प्याव्सन, एनप्याव्सन र हिसानका प्रतिनिधि गरी ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा शिक्षाको व्यवस्था र अवस्था वारे छलफल गरिएको शिक्षा विकास निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक अम्विकाप्रसाद आचार्यले वताएका छन् । माध्यमिक शिक्षा परीक्षालाई आगामी दिनमा थप व्यवस्थित र बनाउन के गर्न सकिन्छ भन्नेमा नै छलफल केन्द्रीत भयो आचार्यले भने ।
समाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका निमित्त निर्देशक लक्ष्मण देवकोटा, कर्मचारी विमला शर्मा लगायतले वोलेका थिए ।