असार २८ गते २०८१

कृषकका छोरा छोरीलाई राज्यले निशुल्क पढाउन माग

कमल पौडेल अथक
पोखरा २७, असार
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कृषकका छोरा छोरीलाई राज्यले निशुल्क पढाउनु पर्ने वताएका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना परियोजना इकाई कास्की मातहतमा संञ्चालित कृषि फार्मको बुधवार अनुगमन गर्दै उनले सो कुरा वताएका हुन् ।
अहिले दिन प्रतिदिन कृषि क्षेत्रमा मानिसको आकर्षण घट्दै गएकोले यदि राज्यले कृषकका छोराछोरीको जिम्मा लिने हो भने कृषि पेशामा आकर्षण वढ्ने वताए । उनले यसो भएमा देशको अर्थतन्त्र उकासिने र वैदेशिक रोजगारीमा भएकाहरु पनि स्वदेशमा नै फर्किने बताए ।
कार्यालय प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत रोशन अधिकारीले परियोजनाले १४ वटा विषयगत क्षेत्रमा काम गरेको वताए ।

उनले गत वर्ष तरकारी र यो वर्ष परियोजना अलैंचीमा केन्द्रीत रहेको धारणा व्यक्त गरे । सामुदायिक पूर्वाधार अन्तर्गत १ लाख लिटरको सिमेन्ट पोखरी निर्माण, रुपा गाउँपालिकामा सोलार प्यानल निर्माण, च्याउ उत्पादन सहयोग, ६ वटा प्लाष्टिक घर निर्माण, ९४ वटा स्थायी प्लाष्टिक घर निर्माणको संरचना तयार र १०८ वटा वाँसको प्लाष्टिक घर निर्माण गरेर कृषकलाई सघाएको वताए ।

त्यसैगरी कृषक अभिमुखिकरण, सिडर मेसिन वितरण, मिनी टिलर वितरण जस्ता कार्यक्रम पनि परियोजनाले समेटेको उनले जानकारी दिए ।
अनुगमन टोलीले पोखराको चाउथे र पोखरा २७ मा रहेको तरकारी फार्म र पोखराको काँहुमा रहेको च्याउ फार्ममा अनुगमन गरेकोे परियोजनाका सामजिक विज्ञ गोविन्द श्रेष्ठले जानकारी दिएका छन् ।