जेठ १० गते २०८१

विद्यालयहरुमा संस्कार शिक्षाको खाँचो

कमल पौडेल अथक
पोखरा १०, जेठ
विद्यालयहरुमा संस्कार शिक्षाको खाँचो रहेको एक कार्यक्रमका बक्ताले जोड दिएका छन् । शिक्षा विकास निर्देशनालय गण्डकीद्धारा हिजो पोखरामा आयोजित प्रदेश स्तरीय असल अभ्यास कार्यक्रमका वक्ताहरुले सो कुरमा जोड दिएका हुन् । असल अभ्यास सुरु गरेका विद्यालयहरुको नतीजा पनि फरक आइसकेको उनीहरुले वताए । शिक्षक जाँगरिलो भए मात्र विद्यार्थीको सिकाइ प्रभावकारी हुने समेत उनीहरुले वताए ।
प्रदेशका सामाजिक विकासमन्त्री सीता सुन्दासले विद्यार्थीलाई कस्तो वनाउने भन्ने कुरा आम शिक्षकहरुको हातमा नै भएको वताइन् । उनले राज्यले लगानी गरे अनुसार शिक्षामा उपलव्धि हाँसिल हुन नसक्नु दुःखद भएको टिप्पणी गरिन् ।

सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेलले एउटा चुम्वकले अन्य धातु ताने झैं शिक्षकले पनि विद्यार्थी आकर्षण गुण धारण गरेको हुनुपर्ने वताए । उनले श्रमको सम्मान युक्त शिक्षा आजको आवस्यकता भएको वताए ।
शिक्षा विकास निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक अम्बिकाप्रसाद आचार्यले असल अभ्यास सुरु गरेका विद्यालयले सकारात्मक नतीजा देखाईसकेकोले अन्य विद्यालयहरुले पनि यो अभ्यासलाई पछ्याउन आग्रह गरे । जुन विद्यालयमा असल अभ्यास कार्यक्रम सञ्चालन भएका छन् ती विद्यालयका शिक्षक र विद्यार्थी समाजमा छुट्टै देखिएका छन् यो खुसीको कुरा हो उनले भने ।

सो कार्यक्रममा गण्डकी प्रदेशका असल अभ्यास सुरु गरेका विभिन्न जिल्लाका ९ वटा विद्यालयका प्रधानाध्यापकहरुले आफ्ना प्रस्तुति राखेका थिए । कार्यक्रममा प्रावि, आधारभूत र माविका गरी ७० जना प्रधानाध्यापकको सहभागिता रहेको शिक्षा विकास निर्देशनालय गण्डकीका उपमहानिर्देशक घनश्याम पौडेलले जानकारी दिए । कार्यक्रमको संचालन अधिकृत ऋषिराज वास्तोलाले गरेका थिए ।

स्याङजाको आँधीखोला वडा नं ३ पूर्ण खोप सुनिश्चित वडा घोषणा
स्याङ्जाको आँधिखोला गाउँपालिकाको वडा नं ३ पूर्णखोप सुनिश्चित वडा घोषणा भएको छ । वडामा भएका सवै वालवालिकाले सवै खोप प्राप्त गरेकोले सो वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको हो । सो वडाका १६ देखि ५९ महिनासम्मका सवै वालवालिकाले खोप प्राप्त गरेपछि हिजो सर्वपक्षीय भेलाले वडालाई पूर्णखोप सुनिश्चित वडा घोषणा गरेको वडाअध्यक्ष शेरवहादुर कार्कीले जानकारी दिएका छन् ।