वैशाख १२ गते २०८१

प्याटेन्ट राइट्स चोरी गरेको आरोपमा पोखराको श्री एम्को म्याक्रोनी उद्योगमा सिलवन्दी

कमल पौडेल अथक
पोखरा १२, बैशाख
प्याटेन्ट राइट्स चोरी गरेको आरोपमा पोखरा ५ मालेपाटनमा रहेको श्री एम्को म्याक्रोनी इन्टष्ट्रिज प्रालिमा बुधवार जिल्ला अनुगमन समितिले सिलवन्दी गरेको छ । कम्पनीमा कार्यरत कामदार तथा कर्मचारीलाई उद्योगवाट वहिर निकालेर उद्योगमा सिलवन्दी गरेको हो ।
प्राउन र पास्ता उत्पादन तथा विक्री वितरण गर्दै आएको उद्योगले वर्षौदेखि अर्कैको पेटेन्ट राइट्स र ट्रेडमार्क चोरी गरेको भन्दै उच्च अदालत पाटनमा उद्योग विरुद्ध उजुरी परेको थियो । सो उद्योग विरुद्ध आफ्नो हकदावी विरुद्ध मकवानपुरको हेटौँडामा रहेको नेपाल पास्ता कम्पनीले उजुरी दिएको थियो ।
अदालतको गत २०८० चैत्र ६ गतेको फैसला अनुसार उद्योग विभागले सो उद्योगले वद्नियत काम गरेको भन्दै कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय कास्कीलाई कारवाही गर्न निर्देशन गरे वमोजिम उद्योगमा सिलवन्दी गरिएको अनुगमन समितिले जनाएको छ ।
पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १६र्, २, विपरितको कसुर उद्योगले गरेको फैसलमा उल्लेख छ । सोही ऐनको दफा १९ र २५ वमोजिम उद्योगलाई हदैसम्मको कारवाही गर्न फैसलामा भनिएको छ ।
सो उद्योग केशवराज गौतम र वसन्त गौतमको संयुक्त लगानीमा रहेको वुझिएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको निर्देशनमा प्रशासकीय अधिकृत मुकुन्द शर्मा पौडेलको अगुवाईमा पुगेको सर्वपक्षीय अनुगमन समितिले सो उद्योगमा सिलवन्दी गरेको हो ।
समितिमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्की, जिल्ला प्रहरी कार्यालय कास्की, उपभोक्ता मञ्च कास्की र नापतौल तथा गुणस्तर कार्यालय कास्कीका प्रनिनिधि सहभागी थिए । सिलवन्दी गरिएको उद्योगलाई विहीवार सम्पूर्ण कागजपत्र सहित उपस्थित हुन अनुगमन समितिले निर्देशन दिएको छ ।