असाेज ११ गते २०८०

उपल्लो काउरेमा १०२ बर्षीय जेष्ठ नागरिक भीमादेवी सम्मानित

कमल पौडेल अथक
पोखरा ११, असोज
जेष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले पोखरा–१९, उपल्लो काउरे निवासी १०२ बर्षीय जेष्ठ नागरिक भीमादेवी बास्तोलालाई उनको घर मै पुगेर सम्मान गरेको छ ।
समाजले उनलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो ।
आफू घरमा नै सम्मानित हुन पाउँदा निकै खुसी लागेको सम्मानित भीमादेवीले बताइन् । छोरा, नाती, नातीना, पनाती खनातीको सामु लामो समयसम्म वाँचेर सम्मान पाउँदा खुसी लागेको र अझै आफूमा कुनै किसिमको रोग नभएको उनले वताइन् ।
समाजले १ सय वर्ष पुगेका ज्येष्ठ नागरिकलाई उनीहरुको घरमा नै पुगेर सम्मान गर्दै आएको छ । अहिलेसम्म संस्थाले २० जना भन्दा वढी ज्येष्ठ नागरिकलाई उनीहरुको घरमा नै पुगेर सम्मान गर्दै आएको छ ।
यसरी घरमा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान गर्दा समाजमा जेष्ठ नागरिकको आत्मसम्मान हुने र परिवारका सदस्यहरुमा पनि दायित्वबोध हुने संस्थाको ठहर छ । राज्यले जेष्ठ नागरिकका हक अधिकारको वारेमा विभिन्न सेवा सुविधा कानूनमा व्यवस्था गरेपनि व्यवहारमा कार्यान्वयमा आउन सकेका छैनन् ।
सार्वजनिक यातायातमा जेष्ठ नागरिक आरक्षण सिट तथा यात्रामा छुटको व्यवस्था भएपनि पनि अहिलेसम्म कार्यान्वयनमा आउन नसकेको समाजका उपाध्यक्ष केशवप्रसाद ढकालले गुनासो गरे ।
उनले घर परिवार तथा समाजले ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण बदल्नु जरुरी रहेको बताए ।
समाजका अध्यक्ष भक्तराज श्रेष्ठको अगुवाईमा गएको टोलीमा समाजसेवी रामप्रसाद वतास, कोषाध्यक्ष रामजीप्रसाद कोइराला, सदस्यहरु त्रिभुवन शर्मा, कुश्मराज आचार्य, हरिप्रसाद फुयाँल, नारायणप्रसाद सुबेदी, अनन्तप्रसाद कोइराला, स्थानीय निलकण्ठ वास्तोला, पद्यमा गौतम र सचिव इच्छावहादुर वाग्ले लगायतका महानुभावहरु रहेका थिए ।