असार १४ गते २०८०

आज हरिशयनी एकादशी

१४, असार ,पोखरा
वैदिक सनातन हिन्दू पात्रो ‘पञ्चाङ’ अनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्र वटा समान समय भागमा विभाजन गरिएको छ । चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । चन्द्रको अवस्थिति अनुसार तय गरिएको तिथिको एघारौँ दिनलाई एकादशी भनिन्छ ।वैदिक सनातन हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपाशना गर्ने दिनका रूपमा लिइन्छ । भविष्योत्तर पुराणमा एकादशीहरूको महिमा प्रष्टसँग वर्णन गरिएको छ । व्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ ।यो एकादशीका दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जाग्ने जनविश्वास पाइन्छ ।

हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस पनि भनिन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।आजको दिन भगवान् विष्णुको प्रतीकको रूपमा घर–घरमा तुलसी रोप्ने गरिन्छ । घर वरपरको हावा स्वच्छ तुल्याउन तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।
रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले पनि होला प्रायः हिन्दूहरूले आफ्ना घर अगाडि तुलसीको मठ बनाएर राख्छन् । तुलसीको मठ हुने घरलाई तीर्थ समान मानिन्छ ।
साभारः हाम्रो पात्रो