असार ८ गते २०८०

ड्रागन बोट रेसमा नेपाल र चाइनाका ४ टिम फाइनल प्रवेश

८,असार पोखरा
पोखरामा आज देखि सुरु भएको चाइना नेपाल फ्रेण्डसिप ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दीनको खेलबाट ४ टोली फाइनल चरणमा प्रवेश गरेका छन्। नेपालका ४ र विदेशका ४ गरी ८ टिम बिच आज भएको दुई चरणको प्रतिस्पर्धाबाट २ टोली नेपालका र २ टोली चाइनाको फाइनल चरणमा प्रवेश गरेका हुन् ।

चाइना नेपाल फ्रेण्डसिप, पोखरा महानगरपालिका, सिंगापुरको जि एस ड्रागन समूह र फेवा डुङ्गा व्यवसायी सङ्गठनको टिम पहिलो दिनको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् ।
प्रतियोगितामा विजेता हुने टिमलाई ५ लाख ५० हजार पुरस्कार प्रदान गरिने कुरा पोखरा महानगरका पर्यटन विकास समितिका उपाध्यक्ष रवीन्द्रराज पौडेलले बताउनु भयो । उक्त प्रतियोगितामा पुरस्कारको लागि मात्र नगद ३० लाख खर्च हुनेछ । प्रतियोगितामा सहभागी सबै प्रतिस्पर्धी टिमलाई पुरस्कारको व्यवस्था गरिएको उहाँले बताउनु भयो ।

शनिबारसम्म पोखरामा सञ्चालन हुने उक्त फेष्टिभलको आज एक समारोहका बिच नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती र नेपाल स्थित चाइनिज राजदूत चेन सोङले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।

उद्घाटनको अवसरमा नेपाल र चाइनाको कला संस्कृति झल्कने नृत्य समेत प्रस्तुतस् गरिएको थियो । नेपालमा पहिलो पटक भएको उक्त प्रतियोगिताको अवलोकन गर्न हजारौँ पोखरेली पोखराको फेवाताल किनारामा पुग्नु भएको थियो ।