मंसिर १४ गते २०७९

बाजुरा र स्याङ्जाको निर्वाचन विवाद अझै सुल्झेन

काठमाडौं, १४ मंसिर । स्याङ्जा–२ र बाजुराको निर्वाचन विवादमा १० औं दिनसम्म पनि निर्वाचन आयोग अनिर्णित बनेको छ ।

मतदान भई सिलबन्दी मतपेटिका निर्वाचन अधिकृतलाई बुझाइसकेको अवस्थामा प्रमुख दलहरु एमाले र कांग्रेसले एक अर्कामाथि धाँधलीको आरोप लगाउँदा स्याङ्जा–२ र बाजुरामा मतगणना हुन सकेको छैन ।

दुई ठाउँको स्थलगत टोलीले प्रतिवेदन पेश गरेपछि त्यसमाथि छलफल गरेका आयोगका पदाधिकारीहरुले गएराति अबेरसम्म पनि कुनै निर्णय गर्न सकेनन् । बुधबार फेरी यसबारे छलफल गरेर निर्णय गर्ने आयोगको तयारी छ ।

स्याङजा–२ मा एमालेले कांग्रेसमाथि बुथ क्याप्चर गरेको आरोप लगाएको छ । चापाकोटमा मरेका मानिसहरुको नाममा समेत मतदान भएको, बुथ क्याप्चर गरिएको अनि विदेशमा भएकाहरुको नाममा समेत मतदान भएको भन्दै एमालेले अहिलेसम्मका प्रक्रिया रद्द गरेर फेरी मतदान हुनुपर्ने माग गरेको छ ।

स्याङजा र बाजुराको विषयमा कांग्रेस र एमालेको केन्द्रीय नेतृत्वको छुट्टाछुट्टै टोलीले प्रमुख निर्वाचन आयुक्तलाई ज्ञापनपत्र बुझाउँदै तत्काल मतगणना सुरु गर्न माग गरेका छन् ।