भाद्र २२ गते २०७९

ज्येष्ठ नागरिक समाजद्धारा शताव्दी पुरुष सत्यमोहन आफ्नै घरमा सम्मानित


कमल पौडेल अथक
पोखरा २२, भदौ
शताव्दी पुरुष एवं बरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी आफ्नै घर आँगनमा सम्मानित भएका छन् । ज्येष्ठ नागरिक सरोकार समाज नेपाल कास्कीले उनलाई घरमा नै पुगेर सम्मान गरेको हो ।
समाजका अध्यक्ष भक्तराज श्रेष्ठले जोशीलाई दूबोको माला, सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । उनको जन्म १९७७ बैशाखमा ललितपुर १२, नख्खुजोलमा भएको थियो । उनी हाल १०३ वर्षका छन् । त्यसैगरी उनकी श्रीमती राधा जोशीलाई पनि समाजले सम्मान गरेको छ । उनी अहिले ९९ वर्षकी छन् । ३ छोरा र ३ छोरीका अविभावक उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छोरी ज्वाइँ डा मित्रलाल श्रेष्ठले जानकारी दिएका छन् ।
सय वर्ष माथिका ज्येष्ठ नागरिकलाई घरमा नै गएर सम्मान गर्ने संस्थाको नीति रहेको समाजले जनाएको छ । सोही अनुसार यसरी सम्मानित हुने जोशी १४ औं नम्वरमा रहेको उपाध्यक्ष केशवप्रसाद ढकालले जानकारी दिएका छन् । समाजले जोशीलाई विशिष्ठ मानार्थ सदस्यता समेत प्रदान गरेको उपाध्यक्ष ढकालले वताए ।
सम्मानित भएपछि वोल्दै संस्कृतिविद्ध सत्यमोहन जोशीले लोक जीवन नै नेपालीको संस्कृति भएको वताए । उनले हिमवत् खण्डका लोक भजनबात नै हरेक संस्कार र संस्कृतिको विकास भएको वताए ।
समाजका अध्यक्ष भक्तराज श्रेष्ठको अगुवाईमा उपाध्यक्ष केशवप्रसाद ढकाल, महासचिव विष्णुप्रसाद पौडेल, सचिव इच्छावहादुर वाग्ले, कोषाध्यक्ष रामजीप्रसाद कोइराला, सदस्यहरु हरिप्रसाद फूयाँल, कुष्मराज आचार्य, हरिश्चन्द्र आचार्य, शरण लिगल, पद्मा गौतम, डीलमाया गुरुग, रमेशप्रसाद कोइराला, नारायणप्रसाद शर्मा, गोविन्द घिमिरे, भरतजंघ राणा लगायत सम्मान गर्न घरमा नै पुगेको सचिव इच्छावहादुर वाग्लेले जानकारी दिएका छन् ।