असाेज १६ गते २०७८

पोखराको चिप्लेढुंगामा चक्काजाम गर्ने चेतावनी

पोखरा,१६ असोज । पोखराको सिद्धार्थमार्ग फिर्केपुल सरोकार समिति र सिद्धार्थ व्यवसायी संघर्ष समितिले आन्दोलन गर्ने भएका छन् । उनीहरुले आइतबारदेखि सिद्धार्थचोक, चिप्लेढुंगा रामकृष्णटोल र बगालेटोलमा दैनिक एक घण्टा चक्काजाम गर्ने भएका छन् । साथै ११ बजेदेखि दिउसो २ बजेसम्म शान्तिपूर्ण विरोधसभा पनि गर्ने भएका छन् । 

पोखरा-४ सिद्धार्थचोक र पोखरा-५ प्रस्याङ जोड्ने फिर्के पुल निर्माणका लागि दवाव दिने उद्देश्यले यी दुई समितिले संघर्षका कार्यक्रम तय गरेका हुन् ।

लामो समय कोरोना कहरपछि बजार खुलेको, चाडपर्व नजिकिंदै गएको तर मानिस आवतजावत गर्ने बाटो नै बन्द भएपछि आफूहरु ठूलो मारमा परेको सरोकार समितिका संयोजक विशाल पराजुलीले जानकारी दिए ।

आफूहरुको अन्य विकल्प केही नभएकाले बाध्य भएर संघर्षका कार्यक्रम अघि बढाउनुपरेको सिद्धार्थ व्यवसाय संघर्ष समितिका विनोद लामिछानेले बताए । 

नयाँ पुल निर्माण गर्ने भन्दै दुई वर्ष अघि शुरु गरिएको भए पनि पछिल्लो समयमा अलपत्र परेको छ । पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०७७ मंसिर ५ गते हो । तर खोलामा पिलर उठाउने बाहेक अन्य कुनै प्रगति हुन सकेको छैन । 

अहिले सर्वसाधारण आवत-जावत समेत गर्न नमिल्ने अवस्था छ । पुल निर्माण गर्ने ठेकेदार कम्पनीसमेत सम्पर्कविहीन भएको स्थानीयको आरोप छ । स्थानीयले तत्कालका लागि खोलामा हिमपाइप राखेर भए पनि मानिस अवतजावत गर्ने व्यवस्था मिलाइदिन संघर्ष समितिको आग्रह छ ।