असार ३० गते २०७८

अवरोधका बीच गण्डकीमा बजेट पास, सदनमा विपक्षीको नाङ्गो नाच

पोखरा ३०, असार
विपक्षी नेकपा एमालेको अबरोधका बीच गण्डकी प्रदेशको बजेट पारित गरिएको छ । अर्थमन्त्रालय समेतको जिम्मेवारी समालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट पास गरेका हुन् । त्यसक्रममा विपक्षी दल एमाले सांसदहरुले सदनमा टेबल उठाएर फाल्दै संसदीय मर्यादा माथिको नाङगो नाच प्रदर्शन गरेका थिए ।

एमालेले बुधवार विहान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बजेटमा पुनर्विचार गर्न माग गर्दै १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको थियो ।
यसबारे मुख्यमन्त्रीले जवाफ नदिए सदन चल्न नदिने एमालेको अडान थियो । बिहान ११ बजे सुरु भएको बैठकमा े जवाफ माग्दै एमालेले अवरोध गरेको थियो ।

बुधवार दिउसो ४ बजे पुनः बसेको बैठकमा फेरि एमालेले संसद अवरुद्ध प¥यो, सभामुख नेत्रनाथ अधिकारीले बैठक रोकेनन् ।
उनले मुख्यमन्त्री पोखरेललाई विधेयक पेश गर्न समय दिएपछि एमाले सांसदहरु नाराबाजी गर्दै रोष्टम घेराउ गर्न आएका थिए ।

मुख्यमन्त्रीलाई पछ्याउँदै गएका पूर्वमन्त्री रामशरण बस्नेतलाई मर्यादा पालकले रोकेपछि एमाले सांसदहरु आक्रोशित भएका थिए ।त्यसक्रममा बस्नेतले टेबल उचालेर फालेका हुन् । सभामुख अधिकारीले बैठक नरोकेपछि एमाले संसदहरु बैठक छाडेर बाहिरिए । बहुमतले आर्थिक वर्ष २०७८/७९ को बजेट पारित गरेको थियो ।