जेठ ४ गते २०७८

नेपालमा भारतीय भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि

काठमाडौं, ४ जेठ ।

नेपालमा ‘भारतीय भेरियन्ट’को कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । जनस्वास्थ्यविद्हरुले भारतीय भेरियन्ट नै नेपालमा फैलिएको पुष्टि हुनु चिन्ताको विषय भएको बताएका छन् । गत साता देशका विभिन्न स्थानबाट संकलन गरिएका ३५ नमुनाको भारतस्थित ल्याबमा जिन सिक्वेन्सिङ गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार प्राप्त नतिजाअनुसार ९७ प्रतिशत अर्थात् ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्रतिशत अर्थात् एउटा नमुनामा बी १.६१७.१ पुष्टि भएको छ । यो दुवै भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म बी १.६१७.१ विश्वका ३४ देशमा भेटिएको छ भने बी १.६१७.२ विभिन्न १० देशमा भेटिएको हो ।