फागुन १९ गते २०७७

आफ्ना सांसदलाई काठमाडौं नछाड्न कांग्रेसको निर्देशन

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसले आफ्ना सांसदहरुलाई काठमाडौं नछाड्न निर्देश गरेको छ ।फागुन २३ गते संसद बैठक बोलाइएको सन्दर्भमा जुनसुकै बेला उपलब्ध हुनुपर्ने भन्दै सांसदहरूलाई काठमाडौंमै रहन निर्देश गरिएको हो । संसदमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न शुक्रबार कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ ।

कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँडले अनौपचारीक रुपमै काठमाडौं बाहिर नजान र नगई हुने अवस्था भए परामर्श गर्न सांसदहरुलाई खबर गरेका छन् ।संयुक्त अविश्वास प्रस्तावमा सहमति जुटेको खण्डमा आवश्यक पर्ने भएकाले सांसदहरूलाई काठमाडौं नछाड्न अनौपचारिक रुपमा कांग्रेसले निर्देशन दिएको हो । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् । जसमध्ये विजयकुमार गच्छदार र मोहम्मद अफताब आलम निलम्बित अवस्थामा छन् ।