फागुन १८ गते २०७७

आफूलाई सत्ताबाट हटाएर देखाउन प्रधानमन्त्री ओलीको चुनौती, आउँदो चुनावमा दुई तिहाइ ल्याएर सिंहदरबार फर्किने दावी

झापा,१८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई कम्फर्टेबल सरकार चाहिएको बताएका छन् । झापाको बिर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कम्फर्टेबल अरुका लागि होइन ।’अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले अदालतले प्रतिनिधिसभा ब्युउँताएर केही नबिग्रिएको बताए ।

उनले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनका लागि बोलाइसकेको बताउँदै राम्ररी अधिवेशन चलाएर अगाडि बढ्न आफ्नो भूमिका सकारात्मक हुने दावी गरे । यद्यपि, अब देशको राजनीति र प्रतिनिधिसभा कसरी अगाडि बढ्ने छ भन्ने कुरा सर्वोच्चको फैसला, मूल्यांकन र परिणामले गर्ने भन्दै आफूले त्यस विषयमा केही पनि प्रतिक्रिया नदिने बताए । ‘मेरो नकारात्मक भूमिका हुँदैन,’ उनले भने, ‘जहिले पनि सकारात्मक भूमिका हुन्छ ।’

आफू यो पाउँ, त्यो पाउँ भन्दै कहीँकतै मुद्दा तथा निवेदन हाल्न नगएको बताउँदै उनले भने, ‘म माग्न जाँदा तपाईंहरु ९नेपाली जनता० को बीचमा जान्छु, ममाथि अन्याय भयो, तपाईंहरुले न्याय दिनुहोस् भनेर ।’ प्रधानमन्त्री ओलीले अहिले कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती पनि दिए । कुनै शक्तिले हटाए पनि चुनावमार्फत दुई तिहाई मत लिएर फेरि सिंहदरबार फर्किने उनले दाबी गरे ।

‘अहिले कसैले हटाउन सक्छ भने हटाओस्, अबको डेढ, दुई वर्षपछि हुने चुनावमा दुई तिहाई मत लिएर फेरि सिंहदरबार फर्किन्छु ।’ सरकारको आलोचना गर्नेहरुलाई धन्यवाद दिँदै भएका कमीकमजोरी सुधार्दै जाने अवसर मिलेको उनको भनाइ थियो ।