फागुन १४ गते २०७७

५६ दिनपछि कोभिड खोपको दोस्रो ‘डोज’,प्राथामिकतामा वृद्धवृद्धा

काठमाडौं,१४ फागुन ।

कोरोना भाइरसविरुद्धको पहिलो खोप लगाएको ५६ दिनपछि मात्रै दोस्रो डोज लगाउन कोभिड—१९ प्राविधिक सल्लाहकार समितिले सरकारलाई सुझाब दिएको छ । सरकारले यसअघि पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउने निर्णय गरेको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पहिलो डोज लगाएको आठदेखि १२ हप्तापछि दोस्रो डोज लगाउन सकिने बताएपछि समितिले सोहीअनुसार सरकारसमक्ष प्रस्ताव गरेको हो । कोभिड—१९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा।श्यामराज उप्रेतीले दोस्रो डोज जति ढिला लगायो शरीरमा एन्टिबडी त्यति नै प्रभावकारी हुने बताए ।

नेपालमा कोरोनाबाट हुने मृत्यु र गम्भीर अवस्थाका संक्रमित घटाउने एक मात्रै विकल्प ५५ वर्षमाथिका मानिसलाई खोप अनिवार्य हो । देशभर यो उमेर समूहका करिब १० लाख नागरिक छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा।रोशन पोखरेलले पनि ५५ वर्षभन्दा माथि उमेर समूह भएका नागरिकलाई तत्काल खोप चलाउनुपर्ने बताए । उनले २० प्रतिशत जनतालाई तत्काल खोप लगाउन मन्त्रालय कटिबद्ध भएर लागेको जानकारी दिए ।