माघ २४ गते २०७७

खोप अभियानमा दोस्रो चरणको रणनीति बनाउँदै सरकार

काठमाडौं, २४ माघ ।

पहिलो चरणको पहिलो डोज लगाउनेहरूकै जनसहभागिता कम देखिएको छ । दोस्रो चरणको खोप अभियानमा सहभागिता पनि बढ्ने गरी सूचना सम्प्रेषण बढाउने, मानिसहरूमा भएको अन्यौलता हटाउने तथा खोप केन्द्रहरू बढाउने गरि सरकारले रणनीति बढाएको छ ।

दोस्रो चरणको खोप लगाउनेहरूको प्रारम्भिक सूचीसमेत तय भइसकेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणमा जोखिमका आधारमा विभिन्न पेशामा आवद्धहरूलाई खोप लगाइने छ ।मन्त्रालयले तय गरेको सूचीमा सुरक्षाकर्मी, यातायातको क्षेत्रमा कार्यरत व्यक्तिहरू, हवाइ क्षेत्रमा काम गर्नेहरू, विद्युत, नापी, मालपोत, बैंक तथा वित्तिय संस्थाहरू र सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई दोस्रो चरणको खोप लगाइनेछ ।

दोस्रो चरणको खोप भने कोभ्याक्स सुविधा अन्तर्गत विश्वस्वास्थ्य संगठनले उपलब्ध गराउने खोप आएपछि सुरू गर्ने तयारी मन्त्रालयले गरेको छ । कोभ्याक्स सुविधा अन्तर्गत नेपालले २२ लाख ५६ हजार खोप पाउने छ । कोभ्याक्सले खोप वितरणको सुरुवात फागुन पहिलो साताबाट सुरु गर्ने जनाएको छ ।