माघ १३ गते २०७७

प्रचण्ड भन्छन् ‘प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्छौं’

काठमाडौं १३ माघ ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा विघटनविरुद्ध अझै शक्तिका साथ लड्ने बताउनुभएको छ । पुराना वामपन्थी नेता खम्बासिंह कुँवरलाई श्रद्धाञ्जली अर्पण गर्दै उहाँले लोकतान्त्रिक आन्दोलनको घातक प्रवृत्तिविरुद्ध अझ शक्तिका साथ लड्ने प्रेरणा कुँवरबाट प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

पार्टी एकताका लागि उहाँहरू जस्ता अभिभावकको ठूलो प्रेरणा आफूहरूलाई प्राप्त भएको बताउँदै दाहालले भन्नुभयो, ‘अहिले जो दुर्घटना जस्तो स्थिति देखा परेको छ, यो स्थितिको सामना गर्नका लागि पनि उहाँको हिजोको शिक्षा, योगदान, त्याग, तपस्या सधैँ प्रेरणाका रूपमा आन्दोलनमा रहिरहन्छन् ।’अहिले नेपालका कम्युनिस्ट र राजनीतिक आन्दोलनमा ऐतिहासिक मोड आएको जनाउँदै उहाँले गम्भीर धक्का जस्तो लागेका बेलामा कुँवरको निधनमा भएको शोकलाई शक्तिमा बदल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।