माघ ३ गते २०७७

अरुणा शाहीलाई पोखरामा सम्मान

पोखरा, ३ माघ ।
एन.एस.जे.एफ.स्पोर्ट अवार्ड अन्र्तगत पिपुल्स च्वाइस विधाका विजेता एवं महिला भलिबल टिमका क्याप्टेन अरुणा शाहीलाई शनिबार पोखरा सम्मान गरिएको छ । पश्चिमाञ्चल क्षेत्रिय भलिवल संघले पोखरामा आयोजना गरेको सम्मान तथा आय व्यय सार्वजनिक समारोहमा गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवि पुन, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, संघका अध्यक्ष छ्याम बहादुर थापा मगर लगायले फुलमाला लगायर खेलाडी शाहीलाई सम्मान गरेका हुन्।


नेपाल खेलकुद पत्रकार मञ्चले हालै आयोजना गरेको एन.एस.जे.एफ.स्पोर्ट अवार्ड अन्र्तगत पिपुल्स च्वाइस विधाको विजेता तथा नेपाल महिला भलिबल टिमलाई बर्ष २०७६ को उत्कृष्ट टोली बनाउन सफल क्याप्टेन अरुणा शाहीलाई थप हौसलाको निम्ति आफुहरुले सम्मान गरिएको अध्यक्ष थापा मगरले बताए । संघले केही समय अघि पोखरामा रकम संकलन गरी खेलाडी शाहीलाई जिताउने उद्धेश्यले ए.पि.एफ. र न्यू डाइमण्ड बिच मैत्रिपूर्ण भलिवल प्रतियोगिता आयोजना गरेको थियो ।

अरुणा शाही जिताऔं सहयोगार्थ समितिले २ लाख ९२ हजार बचत गरेको समितिका सचिव डि.वि. नेपालीले बताए । व्यक्ति, संघ संस्था, क्लव, स्वदेश तथा विदेशबाट १३ लाख ३९ हजार रुपैया उक्त अभियानमा सहयोग प्राप्त भएको सचिव नेपालीले बताए । भलिवल प्रतियोगिताबाट प्रबेश टिकटबाट मात्र २ लाख ५३ हजार रकम संकलन भएको उनले जनाए ।
त्यसै गरी ८१ हजार ७ सय ५ रुपैया प्रतिवद्धता रकम संकलन हुन बाँकी रहेको शनिबार समितिले सार्वजनिक गरेको आय व्ययको प्रतिवेदनमा उल्लेख गरिएको छ । अरुणा शाहीलाई उक्त विधामा जिताउनको लागि समितिले १० लाखको इ—सेवाबाट भोटिङ गराउनमा खर्चिएको संघका अध्यक्ष थापा मगरले बताए ।