पौष २० गते २०७७

फागुन तेश्रो साता देखि आठौं पर्वतीय खेलकूद महोत्सव गर्ने तयारी

पोखरा २०, पुष

आगामी फागुन तेश्रो साता देखि गण्डकी प्रदेशमा आठौं संस्करणको पर्वतीय खेलकूद महोत्सव हुने भएको छ । कोरोनाको कारण नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो फागुन २० गते देखि गण्डकी प्रदेशमा नहुने भए पछि उक्त मितिमा माउन्टेन स्पोर्टस फेडेरेशन (महासंघ) को आयोजनामा पर्वतीय खेलकूद महोत्सव हुने भएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

कोरोनाबाट प्रभावित भएको पर्यटन, खेलकुदलाई माथि उठाउन केही मद्धत पुग्ने उद्धेश्यले पनि सहासिक खेलकुदको केन्द्र गण्डकी प्रदेशमा उक्त महोत्सव हुने तयारी गरिएको महोत्सव संयोजक सुर्वण श्रेष्ठले बताए । माउन्टेन स्पोर्टस फेस्टिभल अन्तर्गत परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाइडिङ, क्रस कन्ट्रि रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट वोर्डिङ लगाएतका १५ खेलहरु प्रस्तावका रुपमा अघि सारेको उनले जनाए ।

उक्त फेस्टिभल सम्पन्न गर्न राष्ट्रिय खेलकुद परिषद, गण्डकी प्रदेश सरकार, स्थानिय सरकार र प्रायोजक संस्थाहरुको सहयोगमा करिब १ करोड ८८ लाख खर्च हुने भएको संयोजक श्रेष्ठले बताए । महासंघमा १५ वटा विभिन्न राष्ट्रिय खेलसंघ र केही इभेन्टहरु आवद्ध भएको उनले जनाए ।