पौष १५ गते २०७७

न हुन्छ चुनाब न रहन्छन् प्रधानमन्त्रीमा ओली :अनन्त

रोल्पा, १५ पौष ।
नेकपा प्रचण्ड–माधव समूहका नेता वर्षमान पुन (अनन्त) ले केपी शर्मा ओली प्रधानमन्त्री पनि नरहने र वैशाखमा चुनाव पनि नहुने दाबी गरेका छन् ।

रोल्पाको लिवाङमा बुधबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै अनन्तले प्रधानमन्त्री ओलीको नियत नै चुनाव गराउने नभएको बताए । आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार चलाइरहेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेर संविधान र आफ्नै राजनीतिक जीवन धरापमा पारेको उनले बताए ।

इतिहासको दिशालाई उल्ट्याउन खोज्दा ओलीको राजनीतिक जीवन नै धरापमा परेको भन्दै निवर्तमान ऊर्जामन्त्री समेत रहेका पुनले भने, ‘अब न वैशाखमा चुनाव हुन्छ, न त उहाँ प्रधानमन्त्री रहिरहनुहुन्छ ।’

यद्यपि ओलीले सैनिक सत्ता–संकटकाल लगाएर भए पनि गैरसंवैधानिक सत्ता लम्ब्याउने धम्की दिन थालेको उनको आरोप छ । उनले जनप्रतिनिधिविहीन शासन चलाउने रहर र व्यक्तिगत इगो त्याग्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे । ‘सैनिक सत्ता वा संकटकालको कुरा गरेर हामीलाई नधम्क्याए हुन्छ’, प्रचण्ड–माधव समूहका नेता पुनले अघि भने, ‘वर्षौंसम्म राजाको सैनिक सत्ता, संकटकाल भोगेका र त्यसलाई परास्त गरेका नेपाली जनता तर्सनेवाला छैनन् ।’

आफैंले मिचेको संविधानलाई ट्रयाकमा फर्काउन योगदान गरे ओलीलाई इतिहासले कहीँ न कहीँ सम्मान गर्ने उनले बताए । ‘नभए जनताले बालुवाटारको झ्यालबाट फाल्छन्, समयमै यो कुरा हेक्का राख्दा राम्रो होला,’ पुनले चेतावनी दिए ।