पौष १५ गते २०७७

अमेरिकामा पनि भेटियो कोरोनाको नयाँ प्रकार

अमेरिका, १५ पौष।

अमेरिकामा कोरोना भाइरसको नयाँ प्रकार देखा परेको छ । बेलायतमा केही साताअघि देखा परि तीब्ररुपमा अन्यत्र फैलिरहेको यो भाइरसको नयाँ प्रकार मंगलबार अमेरिकाको कोलोराडोका एक व्यक्तिमा पुष्टि भएको हो । कोलोराडोका गर्भनरले मंगलबार साँझ यसको जानकारी दिंदै अमेरिकामा पहिलोपल्ट यो भाइरसको नयाँ प्रकार पुष्टि भएको बताए । यो भाइरसको प्रकार बेलायतमा भेटिएको नयाँ प्रकारसँग मिलेकोले त्यतैबाट आएको अनुमान छ ।

बेलायतबाट फैलिएको कोरोना भाइरसको नयाँ प्रकार धेरै मुलुकमा देखा पर्न थालेपछि विश्वभर अर्को तनाव सुरु भएको छ । कोरोनाको खोप भर्खरै सुरु भएसँगै यो भाइरसको नयाँ प्रकारले विज्ञ एवं विश्वजगतलाई तरंगित तुल्याएको छ ।प्रारम्भिक अनुसन्धानले नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशत बढी सर्ने खालको पाइएको छ । विज्ञहरुका अनुसार यसको विकासक्रम पहिलेभन्दा झन् डरलाग्दो छ ।

हालै प्रयोगमा आएको खोपले नयाँ प्रकारको भाइरसलाई काम गर्छ कि गर्दैन भन्ने थाहा पाउन नसकिएको अनुसन्धानकर्मीहरुले औंल्याएका छन् । विश्व स्वास्थ्य संगठन समेत कोरोनाभाइरसको नयाँ प्रकारका कारण चिन्तित छ । यो भाइरस कत्तिको घातक छ भन्ने यकिन भने भइसकेको छैन । यद्यपी यसको फैलिने गति निकै तीब्र रहेकाले यो चिन्ताको विषय भएको संगठनले उल्लेख गरेको छ ।