पौष १४ गते २०८१

सडक महोत्सव सुरु

१३ पुष ,पोखरा
पोखराको लेकसाइडमा २६ औं संस्करणको पोखरा सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन अफ नेपाल रेबान पोखराको आयोजनामा ५ दिनसम्म चल्ने महोत्सव शनिबार उद्घाटन भएको हो । महोत्सव उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नागरिक उड्ययन प्राधिकरणले सरकारको निर्देशन बमोजिम काम नगरेकोमा असन्तुष्टि पोखे । सरकारले कार्ययोजना बनाउन निर्देशन दिएको छ । अहिलेसम्म बनाएको छैन ।’ दुई विमानस्थल चलाउन सरकारले २० बुँदे कार्ययोजना पारित गरेको छ । सोही कार्ययोजनाअनुसार प्राधिकरणले काम नगरेकोमा उनले असन्तुष्टि पोखेका हुन् । अंग्रेजी नयाँ वर्ष २०२५ अवसरमा रेवानले २६ औं पोखरा सडक महोत्सव आयोजना गरेको हो
अंग्रेजी नयाँ वर्ष अवसरमा रेवान, पोखराले बर्सेनि फेवाताल किनारमा पोखरा सडक महोत्सव आयोजना गरेर आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउँदै आएको छ । विविध कार्यक्रमका साथ पर्यटनको राजधानी पोखरामा हुने करिब ५ लाख पर्यटक भित्राउने लक्ष्य आयोजकको छ ।

महोत्सव उद्घाटनअघि खहरे चोकदेखि कोमागानेपार्कसम्म ६० भन्दा बढी जातीय संघसंस्था, आमा समूह, पर्यटन सम्बद्ध विभिन्न संघसंस्था लगायतले ¥याली निकालेका थिए । करिब ४ किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गरिएको छ । ‘सडकमै खाऔं, सडकमै रमाऔं’ नाराका साथ हरेक वर्ष पोखरामा सडक महोत्सव हुँदै आएको छ ।
रेवान महासचिव एवं प्रचारप्रसार समिति संयोजक वीरेन्द्र शेरचनले स्थानीय कलासंस्कृति, मौलिक भेषभूषा प्रदर्शनी, स्थानीय उत्पादनलाई जोड दिएको बताए । सडक महोत्सवलाई अन्तर्राष्ट्रियजगतसम्म चिनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेकाले यसपटक पनि सकारात्मक सहयोगको अपेक्षा लिएको बताए ।

व्यवसायीले सडकमै रेष्टुरेन्ट उतारेर ग्राहकलाई सेवा दिने छन् । महोत्सवको आकर्षणमा विभिन्न जातजातिका लोपोन्मुख साँस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, लाइभ कन्सर्ट, कन्सर्ट, खेलकुद खेलकुदतर्फ बोट रेस, वेटर रेस, टंग अफ बार, मःम, ससेज खाने प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवद्र्धन, अवसर तथा चुनौती विषयमा टक सो, पोखरा सेरोफेरोको स्थानीय उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पतीलगायतका कृषि उपजलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था रहेका छन् ।

रेवान अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवले नेपालमा कला, संस्कृति, तथा पर्यटनलाई विश्वव्यापी रूपमा प्रवद्र्धन गर्ने राम्रो अवसर प्रदान गरेको छ । उनका अनुसार समग्रमा सडक महोत्सव स्थानीयस्तरमा आर्थिक गतिविधि चलायमान, विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना गर्न गतिलो माध्यम बनेको छ । लेकसाइड यतिखेर ध्वजापताका, ब्यानरले दुलही झैं सिँगारिएको छ भने पर्यटकको चहलपहल बाक्लिन थालेको छ । व्यवसायीका अनुसार पोखराको होटल क्षेत्रमा अघिल्लो महिनासम्म ३५ प्रतिशत रहेको अकूपेन्सी बढेर अहिले ५० प्रतिशत हाराहारी पुगेको छ ।

सडक महोत्सवका मुख्य प्रायोजक गोर्खा बु्रअरी प्रालिको टुबोर्ग वियर हो । प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र पोखरा पर्यटन परिषद् छन् ।