भाद्र १९ गते २०७७

बेपत्ताको खोजी र पीडितलाई राहत दिन बागलुङ समाजको आग्रह


पोखरा १८ भाद्र
बागलुङ समाज पोखराले बागलुङको ढोरपाटन नगरपालिका र आसपासका क्षेत्रमा बुधबार राति आएको भीषण बाढी, पहिरोमा बेपत्ताहरुको खोजी, उद्धार र पीडितलाई राहत दिन आग्रह गरेको छ ।
समाजका अध्यक्ष सुनील पाण्डे नेतृत्वको टोलीले बिहीबार गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेको छ । बुधबार राति आएको बाढी, पहिरोमा ११ जनाको शव भेटिएको छ भने दुई दर्जनभन्दा बढी सम्पर्कविहीन छन् ।
समाजका अध्यक्ष पाण्डेले कोभिड १९ कहरबीच थपिएको अर्को विपत्तिमा महलम लगाउन प्रदेश सरकार, स्थानीय सरकार र संघ सरकारले संयुक्त रुपमा काम गर्नुपर्ने बताए ।
उनले भने, ‘घटनामा विस्थापितलाई राहत र पुनस्र्थापना र बेपत्ताको खोजीका लागि राज्यले कुनै कसर बाँकी राख्नुहुन्न ।’
ध्यानाकर्षण पत्र बुझ्दै प्रदेश प्रमुख शेरचनले घटनाबारे जानकारी लिइरहेको उल्लेख गर्दै उद्धार र राहत वितरणमा सरकारले लागिसकेको बताए ।
यसैबीच, बाढीको क्षति र स्थलगत निरीक्षणमा गएका गृहमन्त्री रामबहादुर थापाको टोली पहिरो प्रभावित क्षेत्र नजिकै पुगेर फर्किएको छ । मौसमका कारण घटनास्थलमा जान सक्ने अवस्था नभएको भन्दै नजिकै पुगेर हेलिकप्टरबाट उनी पोखरा फर्किएका हुन् ।