भाद्र २६ गते २०७६

भुस्याह कुकुरको टोकाइले मरे तीन हरिण

समय दृष्टि काठमाडौं, भदौ २६

झापाको मेचीनगर नगरपालिका–११ मा रहेको बाँसबारी सामुदायिक वनले पालेका तीन वटा हरिण भुस्याह कुकुरको टोकाइबाट मरेका छन् भने एउटा घाइते भएको छ। आज बिहान वनले तारजालीले घेरा हालेर पालेको स्थानमा चार वटा भुस्याहा कुकुर पसेर हरिणलाई टोकेर मारेको बाँसबारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष शम्भु राजवंशीले बताए।

कुकुरको टोकाइबाट मरेका हरिणमध्ये दुई वटा पोथी र एउटा भाले रहेको जिल्ला डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताए। उनका अनुसार भेटनरी अस्पताल तथा पशु सेवा विभाग कार्यालय झापाका डा सञ्जय ढुङ्गाना र डा गणेश भट्टराई लगायतको टोलीले मृत हरिणको ‘पोस्टमार्टम’ गरेका थिए। ‘पोस्टमार्टम’पछि तीनवटै हरिणलाई वन कार्यालयको परिसरभित्रै डिभिजन कार्यालय झापाका टोली, वन समितिका पदाधिकारी, स्थानीयवासी र पत्रकारको रोहबरमा गाडिएको छ। बिहान ६ बजेतिर हरिण कराउन थालेपछि वनका कर्मचारी घटनास्थल पुगेका थिए। कर्मचारी पुगेलगत्तै कुकुर भागेको अध्यक्ष राजवंशीले बताए। विगत ११ वर्षदेखि वनले हरिणलगायत अन्य जीवजन्तु पाल्न थालेको अध्यक्ष राजवंशीले बताए। उनका अनुसार हाल वनमा पाँच वटा पोथी हरिण र तीन वटा भाले हरिण रहेका थिए।रासस