भाद्र २३ गते २०७६

सरसफाइ गर्न ६ क्षेत्र, सबै समितिलाई सरसफाइ सामग्री

वातावरण संरक्षण र सरसफाइका लागि वडा कार्यालय पोखरा १७ ले वडालाई ६ क्षेत्रमा विभाजन गरी ती क्षेत्रमा समितिसमेत गठन गरेको छ । दानबहादुर शाहीको संयोजकत्वमा २५ सदस्यीय वडा सरसफाइ तथा वातावरण समिति गठन गरिएको हो ।

समितिको संरक्षकमा पोखरा १७ का वडा सदस्य एवं कार्यपालिका सदस्य राधिका शाही योगी छिन् । क्षेत्र नं. १, २, ३, ४, ५ र ६ का संयोजकमा क्रमशः शिवमाया श्रेष्ठ, गुप्त गुरुङ, गंगा केसी, खुम केसी, सिर्जना काफ्ले भण्डारी र देवेन्द्र केसी छन् ।

वडा कार्यालयले बिहीबार ६ वटै क्षेत्रका समितिलाई सरसफाइ सामग्री हस्तान्तरण गरेको छ । सार्वजनिक स्थान र समितिका क्षेत्रमा सरसफाइ गर्न आवश्यक हसिया, डस्टबिन, दाँते, बाउसो लगायतका सामग्री क्षेत्रगत समितिका संयोजक एवं प्रतिनिधिलाई हस्तान्तरण गरिएको हो । सरसफाइ सामग्री र सार्वजनिक स्थानमा राख्ने ठूला डस्टबिन गरी ती सामग्रीको मूल्य करिब १ लाख छ ।

वडाभरका सार्वजनिक स्थान र टोल टोलमा सरसफाइ र वातावरण संरक्षणमा स्थानीयलाई नै सहभागी गराउन समिति गठन गरिएको हो । समितिका संरक्षक राधिका शाही योगीले फोहोर वर्गीकरण, सरसफाइबारे चेतना, सार्वजनिक स्थल सरसफाइ र कार्यतालिका बनाएर बेला बेलामा सरसफाइ गर्न समितिहरु परिचालन हुने बताइन् । उनले भनिन्, ‘फोहोरको व्यवस्थापन, वातावरण संरक्षणबारे स्थानीयलाई बुझाउन समितिले योगदान गर्छ । स्थानीयकै सक्रियतामा काम हुन्छ । वडाले बजेट, सल्लाह, सहयोग दिन्छ । यो स्थानीय बासिन्दा र स्थानीय जनताको सहकार्यमै हुने काम हो ।’