माघ २ गते २०७९

हेमजा शोकमा डुब्यो

 

पोखरा
यति एयरको बिमान दुर्घटनामा हेमजाका चार जना परेपछि यतिबेला हेमजा पुरै शोकमा डुबेको छ । अमेरिकाबाट शनिबार काठमाडौँ झरेका राजनसापकोटालाई लिन उनकी श्रीमती अनिशा बानिया हिजो नै काठमाडौँ पुगेकी थिइन् । माघे सङ्क्रान्ति पनि आजै परेको हुँदा सापकोटा दम्पत्ति यति एयरलायन्सको जहाज चढी पोखरा आउँदै थिए । पोखराको विमानस्थलमा झर्न नपाउँदै दम्पत्ति नै दुर्घटनामा परे ।

 

सापकोटा आउने कुरा छरछिमेक सबैलाई थाहा भइसकेको थियो । बिहानसम्मको खुसियाली छाएको सापकोटाको परिवार यतिखेर शोकमा डुबेको छ । सापकोटाकी आमा गीता दुर्घटनाको खबरसँगै बेहोस बनेकी छन्। उनका छरछिमेक सबैका आँखा रसाएका छन् ।

डिभी परेर दुई वर्षअघि मात्र अमेरिका गएका सापकोटा गर्त वर्ष बिहे गर्नका लागि पोखरा आएका थिए । गत वर्ष माघको १९ गते विवाह गरेका सापकोटा पुनःअमेरिका फर्की शनिबार मात्रै नेपाल आएका हुन् ।
सापकोटासँगै हेमजाकै जीतेन्द्रबहादुर कुँवर र उनकी श्रीमती भगवती पनि उक्त विमानमा सँगै दुर्घटनामा परेका छन् । घरायसी कामकाजको सिलसिलामा काठमाडौँ गएका कुँवर दम्पत्तिले छोराछोरीलाई भने शनिबार बसमा पोखरा पठाएका थिए । जहाज दुर्घटनामा हेमाजाकै चार÷चार जना परेपछि यतिखेर सिङ्गो हेमजा शोकमा डुबेको छ ।