भाद्र २१ गते २०८३

प्रेम थापा लाई मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड , पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान

भाद्र २० पोखरा
पोखरा फोटोग्राफर संघ पोखराले आयोजना गरेको ५ औं पोखरा फोटोग्राफी अन्र्तगत मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड बाट पोखराका फोटोपत्रकार प्रेम थापा सम्मानित भएका छन्।

पोखरा फोटोग्राफर संघको ४५औँ वार्षिक साधारण सभा, पाँचौँ पोखरा फोटोग्राफी अवार्ड वितरण, ‘फोकस’ तेस्रो स्मारिका विमोचन तथा २५औँ अधिवेशन समारोहका अवसरमा थापालाई उक्त अवार्ड प्रदान गरिएको हो।

अवार्ड प्राप्त गरेपछि थापाले पुरस्कारको रकम सामाजिक सेवामा समर्पण गरेका छन्। उनले अवार्डस्वरूप प्राप्त नगद रकममा आफ्नै तर्फबाट सोही बराबरको रकम थप गरी बाढीपीडित परिवारको सहयोगका लागि प्रदान गरेका छन्।

सानो सहयोगले पनि विपद्मा परेका परिवारको दुःखमा केही राहत पुग्ने विश्वासका साथ आफूले पुरस्कारको रकम सहयोग गरेको थापाले बताएका छन्।

थापाले भने, ‘सानो सहयोगले पनि कसैको दुःखमा थोरै भए पनि राहत मिलोस् भन्ने प्रयास हो। अवार्ड मेरो मेहनतको सम्मान हो, तर यही सम्मानलाई कसैको पीडामा मल्हम लगाउने माध्यम बनाउन पाउँदा अझ खुसी लागेको छ।’

अवार्डसँगै प्राप्त रकमलाई विपद् प्रभावितको सहयोगमा समर्पण गर्ने थापाको निर्णयले फोटोग्राफी र पत्रकारिता क्षेत्रबाट पनि सामाजिक उत्तरदायित्व निर्वाह गर्न सकिने सकारात्मक सन्देश दिएको छ।