पौष १५ गते २०७७

एसईईमा समावेश हुन आवेदन खुल्यो

काठमाडौं, १५ पौष।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको आवेदन फारम खुलाएको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७७ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भराउने सूचना निकालेको छ।२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो।

यो वर्षको एसईई परीक्षामा समावेश हुनका लागि भोलिदेखि आउँदो माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आवेदन फारम भर्न प्रतिविद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ।यस्तै बोर्डले कक्षा ९ का विद्यार्थीका लागि रजिष्ट्रेशन फारम भर्न पनि सूचना निकालेको छ। रजिष्ट्रेशनका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ। एसईई कहिलेदेखि हुने भन्नेमा बोर्ड अन्यौलमा छ। गत वर्ष कोरोना भाइरसका कारण स्थगित गरिएको एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो।

कोरोना भाइरसको सङ्क्रमणले निम्त्याएको परिस्थितिले अन्योलकाबीच रजिष्ट्रेशन फारम र आवेदन फारम भर्ने समय ढिलो गरेर तोकिएको हो ।