कार्तिक १४ गते २०८२

जरोटुप्पोमा सिद्धि गौचनको १५ औं स्मृति सभा

१२ कार्तिक, पोखरा ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले समाजसेवी तथा महिला उद्यमी सिद्धि गौचनको १५ औं स्मृति दिवस मनाइएको छ ।
बुधवार पोखरामा आयोजित स्मृति समारोहका वक्ताले महिला सशक्तिकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, पाककला, साहित्य, संगीतलगायतका विविध आयाममा गौचनको स्मरण गरे ।
सिद्धि गौचन स्मृति अक्षयकोषका संस्थापक विश्वमोहन गौचनले समाजमा सन्तानको उज्ज्वल भविष्यका लागि बाबुआमाले पु¥याएको योगदान जस्तै हरेक पुरुषलाई सफल बनाउन श्रीमतीको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।
उनले सिद्धिको योगदानलाई जीवन्त राख्न कोष स्थापना गरेकोमा आफन्तजनको पनि सहयोग रहेको बताउँदै कोषको रकम वृद्धिका लागि छोरा लेलिनकुमार गौचनबाट प्राप्त ५० हजारसमेत हस्तान्तरण गरे । सोही समारोहबीच एक दाताले कोष वृद्धिका लागि गोप्य १५ हजार सहयोगकोसमेत घोषणा गरे ।
इन्द्र–हुमा वाङ्मय कोषका संस्थापक सविन जिसीले समाजमा यस्ता कार्यले हरेक व्यक्तिलाई सत् मार्गमा अगाडि बढ्नका लागि प्रेरणा दिने स्मरण गरे ।
थकाली सेवा समिति गण्डकीका अध्यक्ष तेजेन्द्र तुलाचनले थकाली समाजको क्षेत्रीय भवन निर्माणमा सिद्धि गौचनको योगदान अतुलनीय भएकाले उनको स्मृति सभा समाजमै गर्न सुझाए । उनले थकाली समुदायले आफ्ना बन्धुलाई परेको खाँचो टार्न हिजो अन्न बालीका माध्यमबाट सहकार्य हुँदै आएकोमा हाल उक्त परम्परा पैसाका माध्यमबाट अगाडि बढ्दै आएको जानकारी गराए ।
समारोहमा थकाली सेवा समितिका निवर्तमान अध्यक्ष ई. रुजिन्द्र तुलाचन, पोखरा प्रज्ञा–प्रतिष्ठानका संस्थापक कुलपति पद्मराज ढकाल, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबा, लुम्ले कविता गाउँ समितिका अध्यक्ष भरत देवकोटा, साहित्यकार अम्बिकाप्रसाद भट्टराई, उमाकान्त पोखरेल, लाल कार्की अञ्जान, असफल गौतमलगायतले बोलेका थिए ।
सभाध्यक्ष कृष्णप्रसाद पौडेलले गौचन परिवारबाट स्थापित अक्षयकोषको आर्जित व्याजबाट डा. वसन्त ताम्रकार, रामकली खड्का र हिमाली सांस्कृतिक परिवार सम्मानित भइसकेको जानकारी गराए ।
सोही समारोहबीच पद्मराज ढकालले लुम्ले कविता पार्क निर्माणका लागि ११ हजार रुपैयाँ आर्थिक सहयोगसमेत प्रदान गरे ।