पौष १० गते २०८१

पोखरामा सुरु भयो बेलुन फेस्टिभल

९ पुष,पोखरा
नेपालमै पहिलोपटक अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल पर्यटनको राजधानी पोखरामा मंगलबारदेखि सुरु भएको छ । पोखरालाई साहसिक खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरा पर्यटन परिषद्, बेलुन नेपाल प्रा लि समेतले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा फेस्टिभल आयोजना गरेका हुन् ।
फेवाताल किनार फेवा फाँटमा ९–१७ पुससम्म फेस्टिभलमा नेपालसहित २० देशका बेलुन कम्पनीहरुले भाग लिएका छन् । फेस्टिभल पामे क्षेत्रको लौरूकदेखि चंखपुरसम्म तीन किलोमिटर क्षेत्रमा आयोजना हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए ।

फेस्टिभलमा अमेरिका, स्पेन, लिथुनिया, थाइल्याण्ड, भियतनाम लगायत मुलुकमा कम्पनीले भाग लिएको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले बताए । बिहान ६ देखि ९ बजेसम्म ब्यावसायिक उडान हुनेछ भने साँझ विविध कार्यक्रम हुनेछ । साँझ ४ देखि ६ बजेसम्म विभ्निन देशको प्रतिनिधित्व गर्दै बेलुन पाइलटले हट एयर बेलुनको उडान भर्ने छन् । राति ७ दखि ८ बजेसम्म बेलुन नाइट ग्लो तथा सांगीतिक कार्यक्रम हुने छन् ।

महोत्सवमा करिब तीन हजार जनाले उडान भर्ने लक्ष्य आयोजकको छ । करिब तीन सय वटा गैरव्यावसायिक उडान हुनेछन् । हट एयर बेलुनमा करिब ४० मिनेटको उडान हुनेछ । उडानमा मनोरम हिमशृङ्खलासहित, पोखराको दृश्यावलोकन एवं सूर्योदय र सूर्यास्त देख्न सकिनेछ ।