जेठ २४ गते २०८२

उपभोक्ता मैत्री काम गर्न राष्ट्रिय उपभोक्ता मञ्चद्धारा प्रदेश सरकारको ध्यानाकर्षण

पोखरा २२, जेठ
राष्ट्रिय उपभोक्ता मञ्च कास्कीले उपभोक्ता मैत्री काम गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विहीवार ज्ञापन पत्र वुझाउँदै मञ्चले सो ध्यानाकर्षण गराएको हो ।
पछिल्लो समयमा केही यातायात व्यवसायीको आन्दोलनपछि गण्डकी प्रदेश सरकारले राइडशेयरिङ एप १ महिनाको लागि स्थगन गरेको भन्दै मञ्चले ध्यानाकर्षण भएको जनाएको छ ।
प्रदेश सरकारले गत जेठ १ गते राजपत्रमा प्रकाशित गरेको राइड शेयरिङ नियमन तथा व्यवस्थापन नियमावलि २०८२ उपभोक्ताको हितको दृष्टिकोणवाट उपयोगी रहेको मञ्चले जनाएको छ ।
उक्त नियमावलिको कार्यान्वयनपछि लाखौं उपभोक्ता लाभान्वीत हुने अवस्था रहेकोमा व्यवसायिकको आन्दोलनपछि गण्डकी सरकारले एक महिनाको लागि स्थगित गर्दा आम उपभोक्तालाई निराश वनाएको छ । सो निर्णयले संविधानको मौलिकहक, सर्वोच्च अदालतको आदेश तथा उपभोक्ता हितको मर्म विपरित रहेको मञ्चले ठहर गरेको छ ।
विश्व अर्थतन्त्र खुल्ला वजार रहेको वताउँदै केही व्यवसायीको आन्दोलनको कारण गण्डकी सरकारले ल्याएको राइडशेयरिङ एप रोक्नु उपभोक्ताको अधिकार हनन् भएको ठहर गरेको छ ।
मञ्चले मुख्यमन्त्री पाण्डेलाई वुझाएको ज्ञापन पत्रमा राइडशेयरिङ एप तत्काल सञ्चालन गरी उपभोक्तालाई सहुलियत पूर्ण सेवा सुविधावाट वञ्चित नगर्न आग्रह गरेको छ । गण्डकी प्रदेशलाई प्रविधि अनुकूल नवप्रवर्तनशील र जनमुखी साशनको उदाहरण दिन समेत मञ्चले आग्रह गरेको छ ।
ज्ञापन पत्र वुझ्दै मन्त्री पाण्डेले राजपत्रमा प्रकाशित भै सकेको राइडशेयरिङ एप लागू गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे । उनले यो नियमावलि कार्यान्वयनमा आम उपभोक्ताको साथ समर्थन आवस्यक आवश्यक रहेको वताए ।
राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलको अगुुवाईमा गएको टोलीमा उपभोक्ता अधिकारकर्मी मीना रानाभाट, विन्दु कार्की, र सचिव कमल पौडेल अथक रहेका थिए ।
यसैबीच राष्टिय उपभोक्ता मञ्च कास्कीले कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्मालाई भेटेर बजारमा देखिएका महंगी, र ठगीका वारेमा जानकारी गराएको छ । अध्यक्ष राजेन्द्र लिगल सहित हिजो गएको टोलीले सो वारेमा जानकारी गराएको हो । मञ्चले वजारमा देखिएको मंहगी, र सिण्डीकेटले आम उपभोक्ता मारमा परेको जिकिर गरेको छ ।
प्रतिस्पर्धि वजारमा उपभोक्ताहरुले रोजी रोजी गुणस्तरीय वस्तु र सेवा लिन सक्नुपर्नेमा अहिले पनि विभिन्न वाहानामा त्यसमा रोक लगाउने काम भइरहेको भन्दै ध्यानाकर्षण गराएको छ । वजारमा खाद्यवस्तुमा हुने मिसावटले नागरिकको स्वास्थ्यमा गम्भीर असर पुर्याएको मञ्चले ठहर गरेकोे छ ।
सो अवसरमा मञ्चले उपभोक्ता अधिकारको संरक्षण गर्न भन्दै ज्ञापन पत्र वुझाएको थियो । ज्ञापन पत्र बुभ्दै प्रजिअ शर्माले आफू सँधै उपभोक्ताको पक्षमा उभिने प्रतिवद्धता व्यक्त गरेको मञ्चका सचिव कमल पौडेल अथकले जानकारी दिएका छन् ।