श्रावण २५ गते २०८१

आज नाग पञ्चमी

२५ साउन ,पोखरा
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्वीर टाँसेर मनाइयो । नागको पूजा गरी तस्बिर टाँस्दा वर्षभरि घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने, अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने जनविश्वास रहेको छ । पोखरामा पनि काँहुखोला स्थित कमलपोखरीमा भक्तजनहरुको भिड लाग्ने गर्दछ ।
नागका आठ कूलका आठ नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा रहिआएको छ ‘अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ नागलाई श्रावण शुल्क पञ्चमीमा ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । यस दिन नागदेवताको पूजाअर्चना गर्न दूध, फूल अनि धान भुटेर तयार भएको लाभा चढाइन्छ’, यसदिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प, बिच्छीलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको ५ । वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुसी पार्न पूजा गर्ने परम्परा रहँदै आएको छ ।