माघ १५ गते २०८०

महिलाहरुको लागि लोकसेवा तयारी कक्षा तालीम सम्पन्न

कमल पौडेल अथक
पोखरा १५, माघ
महिलाहरुको लागि निशुल्क लोकसेवा आयोग तयारी कक्षा तालीम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय कास्कीद्धारा आयोजित २० दिने सो तालीममा ४० जना महिलाहरुको सहभागिता रहेको सहभागिता रहेको थियो ।
तालीम समापनको अवसरमा वोल्दै सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रत्येक जिल्लामा यस्ता तालीम आवस्यक भएको वताए ।

महिलाहरुको पायक पार्नको लागि प्रत्येक जिल्लामा यस्ता तालीम दिन सकेमा फलदायी हुने उनले वताए । यो समयमा भन्दा साउन, भदौमा नै यस्तो तालीम प्रदान गर्न सकिए त्यसले लोकसेवाको लागि सार्थकता प्रदान गर्ने उनले वताए ।
तालीम व्यवहारिक र फलदायी भएको सहभागीहरुले वताए । सरकारले महिलाको लागि यस्तो तालिम आयोजना गरेर महिला सशक्तिकरणमा भूमिका खेलेको उनीहरुले प्रतिक्रिया दिएका छन् ।
हामीले यस्तो अन्य विविध तालीम संञ्चालन गर्दै आएपनि यो तालीम महिलाहरुको लागि विल्कुल फरक भएको कार्यालय प्रमुख इन्द्रवहादुर थापाले वताए । उनले तालीममा सिकेको ज्ञानले लोकसेवा उत्तीर्ण गर्न फलदायी हुने धारणा व्यक्त गरे । हिजो लोकसेवाको तयारी तालीम नपाएर पनि लोकसेवा लड्नुपर्ने वाध्यता थियो तर आज तालीम लिएर लोकसेवा लड्न पाउनु भाग्यको कुरा हो उनले भने ।
सामाजिक विकास कार्यालय कास्कीका प्रमुख इन्द्रवहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास निर्देशनालयका उपमहानिर्देशक ऋषिराज वास्तोला, प्रशिक्षार्थी ईश्वरी लामिछाने, कार्यालयका अधिकृतस्तर छैटौं ज्ञानेश्वर सुवेदी लगायतले बोलेका थिए ।