मंसिर ३ गते २०८०

छठ पर्व (फोटो फिचर)

मंसिर ३,पोखरा
नेपालको तराई क्षेत्रमा निकै धूमधामका साथ मनाइने छठ पर्व विशेषतः सूर्यको अनुष्ठान हो । वैदिक सनातन धर्ममा सूर्यलाई पनि देव मानिन्छ, सूर्यको वरपर पृथ्वी घुम्ने र शक्ति र ऊर्जाको केन्द्र सूर्यसँग मानवको अस्तित्व परिभाषित भएको हुन्छ । मानवको सहअस्तित्व त्यसैले पनि छठ पर्वसँग सांस्कृतिक रूपमा जोडिएको हुन्छ ।यसको पहिलो दिनलाई अरबा अथवा नहाई खाय भनिन्छ । त्यस्तै, दोस्रो दिनलाई खर्ना, तेस्रो दिनलाई सँझिया अर्घ्य अर्थात् छठ भनिन्छ । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको यो पर्वको तेस्रो दिन छठ अर्थात् षष्ठी हो । यसको अन्तिम दिन अर्थात् चौथो दिनलाई विहनिया अर्घ्य पारण भनिन्छ ।

यो पर्वका यी चार दिन विभिन्न कामहरू गरिन्छ । अरबाको दिन गाउँका युवाहरू मिलेर छठ मनाइने नदी या ताल वा पोखरीको किनारलाई सजाउने, सडकहरू सफा गर्ने गर्छन् ।यसको तेस्रो दिन अर्थात् सँझिया घाटको दिन साँझमा व्रतालुहरू त्यसरी सजाइएका खोला, नदी, तलाउ अथवा जलाशयको पानीमा आधा डुबेर अस्ताउन लागेको सूर्यलाई दूधको अर्घ्य दिने गर्छन् । अनि चौथो दिनको बिहान सूर्य उदाउनुअघि नै छठ घाटमा पुगेर उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएर व्रतको समापन गर्ने चलन छ । छठको दिन विभिन्न समूह बनाएर सामूहिक रूपमा भजन गाउने र रमाइलो गर्ने चलन पनि रहेको छ । यस्तो गर्दा मैथिली भाषाका पारम्परिक गीतसङ्गीतलाई बढी स्थान दिइन्छ ।