असाेज २७ गते २०८०

कांग्रेस कास्की क्षेत्र नं ३ को प्रथम भेला, पार्टीमा विचार र सिद्यान्तको चीरहरण हुन थालेको भन्दै बक्ताहरुको चिन्ता

कमल पौडेल अथक
पोखरा २७, असोज
नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा विचार र सिद्यान्तको चीरहरण हुन थालेको वताएका छन् ।
नेपाली कांग्रेस कास्की क्षेत्र नं ३ द्धारा शुक्रवार पोखरामा आयोजित प्रथम सम्मेलन एवं चाडपर्व लक्षित शुभकामना आदान प्रदान कार्यक्रममा वोल्दै उनले सो कुरा वताएका हुन् । उनले नेतृत्वले गलत गर्दा पनि कार्यकर्ता वोल्न नसक्ने भएको वताए । हामी पनि आ आफ्नो स्वार्थमा लाग्यौं उनले भने ।
उनले नेतृत्वलाई गलत निर्णय गर्न हौस्याउनेमा पार्टीका तल्ला समितिहरु जिम्मेवार रहेको वताए । उमेद्वार छान्दा हामी आफैले नछानेर केन्द्रमा पठाउँदा के हुन्छ त्यही भएको छ । यहीँ हामीले छानेर पठाउने हो भने किन अन्याय हुने थियो र भयो भन्न पर्ने थियो यसमा हामी पनि चुकेका छौं सबैले मनन गरौं उनले भने ।
वीपीको पार्टी भनेर चिनिने कांग्रेस आज विचार विहीनको अवस्थामा पुग्न थालेको उनले टिप्पणी गरे । गुटवन्दीले कांग्रेसको राजनीति धरमराएको वताउँदै यसलाई मासवेश पार्टी वनाएर अगाडि वढ्नु पर्ने उनले वताए ।
संविधान सभा सदस्य एवं केन्द्रीय सदस्य शारदा पौडेलले यो देशको परिवर्तनमा कांग्रेसको ठूलो योगदान रहेको वताइन् । उनले मनमा भएका तिक्तता भुलेर पार्टीलाई बलियो बनाउन लाग्नुपर्ने बेला आएको जिकिर गरिन् ।
कार्यक्रमका अध्यक्ष एवं क्षेत्रीय सभापति मनोज गुरुङले सवै मिलेर पार्टीलाई वलियो वनाउन लाग्नु पर्ने वताए । पार्टी वलियो भए नै हामी बलियो हुने हो उनले भने ।
नेता कार्यकर्ताको अत्याधिक उत्साहजनक सहभागितामा भएको सो कार्यक्रमले कास्कीका अन्य क्षेत्रलाई नै चुनौति दिएको सहभागीहरुले वताए । पछिल्लो समयमा नेपाली कांग्रेस कास्कीको पार्टी कार्यसमिति बैठक नै ३ महिनासम्म वस्न नसकेको अवस्थामा कास्की क्षेत्र नं ३ को प्रथम भेलामा देखिएको कांग्रेसहरुको उपस्थितिले नेपाली कांग्रेस कास्कीलाई नै चुनौति दिएको छ ।
कास्की कांग्रेसले नै आयोजना गर्ने जिल्ला स्तरीय कार्यक्रममा नै सामान्य कार्यकर्ता उपस्थित हुँदै आएको अवस्थामा क्षेत्र नं ३ मा कांग्रेसको उत्साहले जिल्लाको नेतृत्व माथि नै चुनौति थपिदिएको छ ।
दिन भरी मञ्चमा वसेर आदेशात्मक भाषण गरेका कास्की कांग्रेस सभापति किशोरदत्त बरालले कांग्रेसको कार्यक्रम कस्तो हुने र उपस्थिति कस्तो हुनुपर्ने रहेछ भन्ने पक्कै हेक्का राखे कि राखेनन् त्यो भने थाहा भएन । तर उनी पार्टी सभापति भएदेखि कांग्रेसका कार्यक्रममा त्यो खालको उपस्थिति सायद उनले कमै देखेको हुनुपर्ने उपस्थित कार्यकर्ताहरुले टिप्पणी गरे ।
पछिल्लो समयममा पार्टी विधि विधानमा नचल्नु, गोजीका मुन्छेलाई टीको लगाउनु, कार्यकर्ताहरुले सिद्यान्तको भन्दा गुटको झोला भिर्नु, पार्टीको आदेश नमान्नु, राजनीतिको आडमा अपराधिकरण बढ्नु कांग्रेसको लागि चुनौतिका विषय बन्दै गएको कार्यकर्ताहरुको भनाई छ ।
कार्यक्रममा कार्यकर्ताहरुको उपस्थिति उत्साहजनक भएपनि बन्दसत्रको विधि पुरा गर्नुपर्ने, नीतिगत छलफल गर्नुपर्ने, भावि रणनीति तय गर्नुपर्ने लगायत छलफलका विषयहरु औपचारिकतामा मात्र सिमित भए ।
किनकी करिव १ घण्टा लामो आशन ग्रहण र दर्जन बढी नेताहरुको भाषणले गर्दा ती सवै विषयहरु गौण रहे । मलाई निम्तो गरेर न आशन ग्रहण न भाषण उपस्थित कांग्रेसीहरुको पुरानै रोग भने शुक्रवार भएको कार्यक्रममा गज्जव संग देखियो ।
क्षेत्रीय सभापति मनोज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सचिव लक्ष्मीप्रसाद पौडेलले कार्यक्रमको संञ्चालन गरेका थिए ।