श्रावण २३ गते २०८०

अभियन्ता र पत्रकार आरकेलाई पक्राउ पुर्जी

कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता तथा स्वतन्त्र पत्रकार आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

पत्रकारिता क्षेत्रमा देखिएका विकृतिमाथि प्रहार गरेकै कारण पर्वत प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । अभियन्ता गिरीले लामो समयदेखि सामाजिक वेथिती र कालीगण्डकी दोहनविरुद्ध खबरदारी गर्दै आएका छन् ।

सामाजिक सञ्जालमा पर्वतको पत्रकारितामा देखिएका विकृत पक्षको भण्डाफोर गरेकै कारण पक्राउ पुर्जी जारी गरिएको भन्दै कालगण्डकी बचाउन आभियानले आपत्ति जनाएको छ । यो कदमले अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त मौलिक हकमाथि नै आघात पु¥याएको अभियानको ठहर छ ।

नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानमा सदस्यबाट हटेका केही पत्रकारले गिरीविरुद्ध जाहेरी दिएका थिए । ‘पर्वत प्रहरीको यो कदमले एकातिर कालीगण्डकी दोहनमा लागिपरेका दलाल र तस्करको मनोबल बढाउने र अर्कातिर यसको संरक्षणका लागि सक्रिय रहेका अभियन्ताको मनोबल गिराउने काम गर्ने छ,’ विज्ञप्तिमा भनिएको छ ।

अभियन्ता गिरीले पनि सामाजिक सञ्जालमार्फत पत्रकारितामा देखा परेको वेथितीविरुद्ध निरन्तर प्रश्न गर्दै आएका छन् । पत्रकार गिरीले सामाजिक सञ्जालमा पत्रकारको नाममा देखिएको लाखौ बेरुजु रकम, पत्रकारको तस्करसँगको मिलेमतो, मिडियाले सामाजिक मुद्दाको उठान गर्न नसकेको, कालीगण्डकी नदीको गैरकानुनी दोहनबारे पत्रकारको मौनता लगायतका विषयमा सामाजिक सञ्जाल उनले पौरवी गर्दै आएका छन् ।

गिरीले गरेका टीकाटिप्पणीको विषयलाई लिएर केही पत्रकारले पर्वत प्रहरीमा साइबर अपराध गरेको भनी उजुरी दिएका थिए । अभियन्ता गिरीविरुद्ध पत्रकारहरु गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापा लगायतले उजुरी दिएका हुन् ।