असार १४ गते २०८०

तेस्रो हिले महोत्सवको तयारी पुरा

गोविन्द तिमिल्सिना
हेमजा, १४ असार
कास्कीको हेमजामा शुक्रबार हुन लागेको तेस्रो हिले महोत्सवको तयारी पूरा भएको छ । आयोजक देवीस्थान सेवा समाजले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र भोली विहान १० बजे मिलनचोकबाट शोभायात्रा निकालिने जनाएको हो ।


स्थानीय रामबहादुर कुँवर, तुलसी पौडेल, डिल्लीराम नेपाली र कृष्णबहादुर कुँवरको करिव ७ रोपनी खेतमा महोत्सव हुन लागेको हो । ञकृषिमा कृषकलाई प्रोत्साहनः विष्णुपादुका माई मन्दिर हेमजाको शान’ नाराका साथ हुन लागेको उक्त महोत्सव अन्र्तगत उत्कृष्ट किसान सम्मान लगायत हिलोमा फुटवल, महिला पुरुष हिले दौड, रसि तान्ने, घैटो फुटाउने, धान रोप्ने, हल गोरु तथा जोडी दौड, हिले नाँच, माछा तथा भाले समाउने, असारे गीत, झाँकी लगायतका प्रतियोगिता आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाइएको छ।


कृषकलाई किसान हुनुमा गर्व तथा हर्ष दिलाउँदै युवा पुस्तालाई कृषितर्फ आकर्षण बढाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो । महोत्सवसँगै हेमजा लगायत विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढ्ने अपेक्षा पनि गरिएको छ।