चैत्र ७ गते २०७९

नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीको छैटौं प्रदेश सभा सम्पन्न

पोखरा, ६ चैत ।

नेपाल उद्योग वाणिज्य महा संघको गण्डकीको छैटौं प्रदेशसभा सम्पन्न भएको छ । प्रदेसशभाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता रहेको बताए । उनले मुलुकको उद्योग व्यवसाय तथा वाणिज्य लगायत क्षेत्रले राज्यलाई ठूलो सहयोग गर्ने स्वतन्त्र निकाय रहेपनि राज्यले उचित नीति बनाउन नसक्नु दुःखदायी रहेको सुनाए ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले गण्डकी प्रदेश सामाजिक क्षेत्रमा अग्रिम स्थानमा रहेपनि उद्योग व्यवसायको क्षेत्रमा भने निकै पछि रहेको बताए । उनले अब गण्डकी प्रदेश सरकार उत्पादनसंग जोडिनुपर्नेमा जोड दिए । अब गण्डकी प्रदेशमै आयातित सामानलाई प्रतिस्थापन गर्नेगरी स्थानीय स्तरमै उत्पादन गरी बजारमा ल्याउन उद्योग तथा व्यवसायीलाई आग्रह गरे ।

 


नेपाल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष आनन्द राज मुल्मीले राज्य आर्थिक धरातलमा दिनप्रतिदिन फस्दै गएको बताउँदै यसको रोकथामका लागि राज्य निरिह देखिएको स्पष्ट पारे । राज्यले राजस्व चुहावट र कर छलिका कारण आन्तरिक ऋण लिन बाध्य भएको बताए । राज्यले उचित नीतिको व्यवस्था नगर्दा उद्योग व्यवसायीको मात्र नभई समग्र राज्यकै अर्थतन्त्र धरासायी बनेको उनको भनाइ रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिब कोइरालाले बैंक तथा वित्तीय संस्थाले कर्जामा गरेको ब्याज वृद्धि तथा अव्यवहारिक चालु पुँजी कर्जा निर्देशिकाका कारण यो वर्ष सिंगो निजी क्षेत्र प्रताडित बनेको बताए । आफुहरुले पटक –पटक सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएपनि मागको सुनुवाई नभएको गुनासो पोखे। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठ, पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ, उपाध्यक्ष दिनेश श्रेष्ठ, उपाध्यक्ष रामचन्द्र संघाइ, पुर्व अध्यक्ष चण्डीराज ढकाल, लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्मा लगायतले आफ्नो भनाइ राखेका थिए ।
सो अवसरमा पत्रकार वासुदेव मिश्रलाई संघले सम्मान गरेको थियो ।