फागुन २२ गते २०८१

मुटुको बिरामी अनमोलको उपचारमा सहयोगको अपिल

रमेश तिमल्सिना

फागुन,२२ पोखरा । गोरखा भिमसेन थापा गाउँपालिका–३,तान्द्रङ निवासी बिरामी अनमोल लामिछानेको उपचारका लागि सहयोग जुटाउन अपिल गरिएको छ । लामिछानेको संबेदनशिल अंग मुटु र फोक्सोमा समस्या भएपछि हाल कान्ति बाल अस्पताल काठमाण्डौंमा राखेर उपचार भईरहेको छ ।

विपन्न परिवारका लाछिछानेको उपचारका लागि खर्च धेरै लाग्ने भएपछि बिरामीका बुबा अनन्त कुमार लामिछानेले फेसबुक मार्फत सबै संग सहयोगको लागि अनुरोध गरेका छन् । पारिवारिक स्रोतका अनुसार ५ महिनाका अनमोल बिगत चार महिना देखि यो रोग बाट ग्रसित छन्।

अनमोलको फागुन ११ गतेदेखि कान्ति बाल अस्पतालमा पीआईएमसीयू मा राखेर उपचार भइरहेको बुबा अनन्त लामिछानेले जानकारी दिए । केही समय अस्पताल आउने जाने गरेको र करिब एक महिना कोठामै राखेर अक्सिजन दिएर उपचार हुँदै आएकोमा थप गाह्रो भए पछि हाल अस्पताल भर्ना गरिएको हो । बिरामीमा निमोनिया पनि देखिए पछि अवस्था थप जटिल बनेको छ ।

उनको दुई वटा अपरेशन गर्नु पर्ने भएको छ । अस्पताल प्रशाशनका अनुसार छोराको उपचारमा ७ लाख रुपयाँ खर्च लाग्ने उनले बताए । बिरामीका बुबा भन्छन् घरको आर्थिक अवस्थाले धान्ने स्थिति छैन । त्यसैले छोराको जीवनरक्षाका लागि सबैसँग हात फैलाएको हुँ ।

अनमोललाई सहयोग गर्न उनका बुबा अनन्त कुमार लामिछानेको कुमारी बैंक लिमिटेडको खाता नम्बर १३३०३२७०८३२००००१ मा जम्मा हुनेगरी क्यूआर गरेर सहयोग रकम प्रदान गर्न सकिने छ ।

छोरा अनमोलको उपचारार्थ आफ्नै छोरा समान सम्झेर सहयोग गर्न बुबा अनन्तले सबै संग अनुरोध गरेका छन् । वडा कार्यालयले पनि आर्थिक सहयोग गर्न गत मंसिर ८ गते सिफारिस दिएको थियो । वडा कार्यालयले दिएको सिफारिसका आधारमा सहयोग संकलन र उपचार भईरहेको लामिछानेले बताए ।