माघ २० गते २०७९

माग पूरा नभए २ दिनपछि थप निर्णय गर्ने रास्वपाको चेतावनी

काठमाडौँ, २० माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहिरहने वा छोड्ने भन्ने निर्णयमा पुग्न दुई दिन पर्खने भएको छ।

बिहीवार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकार तत्काल नछोड्ने निर्णय गरेको हो।

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकअघि नै २ दिनका लागि समय दिन आग्रह गरेपछि बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको पार्टीका महासचिव एवं प्रवक्ता मुकुल ढकालले बताए।

उनले राजनीतिक सहयोग र सहकार्यको इमान्दारी पूरा गर्न प्रधानमन्त्रीले २ दिनको समय मागेको पनि खुलासा गरे। उनले राजनीतिक इमान्दारीलाई ध्यानमा राखी पार्टीसँग सहमति भएअनुसारको सहमति कार्यान्वयन भए गठबन्धनमा रहिरहने नत्र २ दिनपछि पुनः बैठक बसेर आवश्यक निर्णय लिने स्पष्ट पारे।

प्रवक्ता ढकालले भने‚ ‘प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले हाम्रा अध्यक्षलाई बैठक चलिरहेका वेला फोन गरेर ३ दिनको समय माग्नुभएको छ। २ दिनमा पनि केही गर्नु भएन भने हामी फेरि पार्टीको बैठक बसेर निर्णयमा पुग्छौं।’

बैठकमा अधिकांश नेताले हठात्‌मा निर्णय गरेर पछुताउनु नहुने सुझाव दिएको उनले बताए।