पौष १२ गते २०७९

गिरीको नेतृत्वमा टेवानको नयाँ कार्यसमिति

पोखरा, ११ पुस । पर्यटन व्यवसायी महिला संघ नेपाल(टेवान) को पाँचौं साधारणसभा एवम् तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि कमला गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा प्रभा सुवेदी, महासचिवमा अनिता खड्का भट्टराई, सचिवमा शोभा अधिकारी पौडेल, कोषाध्यक्षमा कमला गुरुङ रहनुभएको छ । समितिका सदस्यहरूमा ईश्वरी पौडेल, शान्ता तिमल्सिना, सरिता बराल क्षेत्री, शारदा लम्साल, संगीता अधिकारी र पवित्रा थापा रहनुभएको छ । सदस्य ईश्वरी पौडेललाई समितिको कानुन तथा प्रचारप्रसारको संयोजकको जिम्मेवारी समेत प्रदान गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई निर्वाचन समितिका संयोजक एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, निर्वतमान अध्यक्ष रेणु थापा मगर, संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्री लगायतले टिका तथा खादा लगाउनुभएको थियो ।
यस अघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै महिला सिप विकास संस्थाका प्रबन्धक रामकलि खड्काले पछिल्ला समयमा महिलाहरू उद्यमशिलताका क्षेत्रमा अग्रसर बन्दै गएको बताउँदै सशक्तिकरणका लागि प्रत्येक महिलाहरू आयआर्जनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले पोखरा नेपालको पर्यटनको राजधानी मात्र नभै दक्षिण एशियाको नै उत्कृष्ट गन्तव्य रहेको बताउनुभयो । पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने अन्तिम तयारीमा रहेको बताउँदै उहाँले यसले पोखरालाई अन्तराष्ट्रिय बजारसँग जोड्ने बताउनुभयो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा महिला पर्यटन व्यवसायीहरू संगठित बन्दै अघि बढ्नुभएको उल्लेख गर्दै परिषद्ले हरेक पर्यटकीय गतिविधिमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
टेवानका अध्यक्ष रेनु थापा मगरले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास टेवानको प्राथमिकतामा रहेको बताउँदै धेरै पर्यटन व्यवसायी महिला संस्थासँग आवद्ध बन्नुभएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवम् टेवानका सल्लाहकार टीकाराम सापकोटा, टेवानका संस्थापक अध्यक्ष लक्की कार्की, उपाध्यक्ष कमला गिरी, सचिव प्रभा सुवेदी, पोखरा उद्योग वाणिज्य संघका महासचिव बलराम आचार्य, पोखरा–६ का वडा अध्यक्ष विष्णुबहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल लगायतले पोखराको पर्यटन प्रवद्र्धन, विकास र सम्भावना लगायतमा बोल्नुभएको थियो ।