असार २० गते २०७९

होमस्टे, दलित र हाम्रो समाज


म एक ट्रावल ब्लगर वा भ्लगर हु अर्थात घुमन्ते पत्रकार । अहिले मेरो खासै जिम्मेवारीको कुनै मिडिया छैन झोक चले लेखि दिन्छु कोही कुनै मिडियालाई मन परे प्रकाशित पनि गरिदिन्छन नत्र म यसै रमाउछु । झण्डै २० वर्ष पहिले देखीको मित्रवत सम्बन्धका मेरा आत्मिय मित्र अमृत भादगाउलेको फोन आयो । कन्सेप्ट नेपालको आयोजनामा हामी एक कार्यक्रम गर्दैछौ, दलित होम स्टेमा काब्य यात्रा हो, देशकै चर्चित कवी, लेखक पत्रकार आउदैछन तपाई आउने हो ? मैले नाइ भन्ने कुरै थिएन, झोला भिरे हिडिदिए । पोखराबाट जानेमा केही साथी बेलुका आउने कुरा भयो भने हामी ३ जना अर्थात ताड.तिड.का मेरो आदरणिय सर प्रकास गुरुड. र पोखराको अटेरी अभियानका अभियान्ता गणेश पौडेल अटेरी सहित दमौली पुग्यौ । दमौलीका सागर उदासको घरमा काठमाण्डौ र चितवनका साथी पनि आइपुग्नु भयो । चिनापर्ची पछी दमौलीको दक्षिण सेती र मादीको संगमको ब्यास गुफा अवलोकन गरियो । करिव दिउसो ३ वजे तिर हामी आपस्वारा दलित होम स्टे तिर लागियो । यो यात्रामा म २ कुराले निकै उत्सुक थिए पहिलो मैले देशकै नाम चलेका कवी, लेखक र पत्रकारको जम्बो टिममा समावेश हुनपाएको थिए भने दाश्रो नेपालकै एक मात्र दलित समुदायको होमस्टेको भ्रमणको अवसर थियो । जव हामी दमौली देखी ६ किमी पूर्व आपस्वारा दलित होमस्टे पुग्यौ आमा दिदी बैनीहरु एकै पहिरनको ड्रेसमा सजियर हामी पाहुना बनी गएकाहरुको गलामा माला लगाइ स्वागत गरे अन्य दाजुभाईहरुले ताली बजाएर हार्दिकता देखाए, यो निकै रोमाञ्चक क्षण थियो । ३ दिने बसाइमा काब्य यात्रा सहित दलित समुदायको बारेमा जान्ने, बुझ्ने र सोच्ने मौका मिल्यो ।

होमस्टे
विश्वमा घुमन्तेका लागि ब्यापारिक होटल, लज, गेष्टहाउस जस्ता ब्यावसाहिक स्थानहरु हुन्छन । तर बिश्वमा नै अर्ध ब्यावसाहिक, सेवा मुलक खाले सामुदायिक वा ब्यात्तिगत सेवा सुबिधाका स्थान, भ्रमण र बिभिन्न बिशेषता बोकेका भ्रमण पद्धतीलाई फरक नामले बुझिन्छ । जस्तै १ सोलो ट्रावल अर्थात एक्लै हिड्ने घुमन्ते, २ हिचिकर अर्थात पैसा खर्च नगरी लिफ्ट मागेर यात्रा गर्ने, ३ भोलेन्टरी होस्ट अर्थात पैसा खर्चनगरी कसैकोमा काम गरेर बस्ने खाने, ४ काउच सर्फिड. अर्थात पैसा खर्च नगरी कसैको घरमा एक रात बिताउने , ५ फाम टिप अर्थात कसैको लगानीमा घुम्ने, ६ कम्पेनिओन ट्रावल अर्थात साथसाथमा मिलेर यात्रा गर्ने पैसा पनि मिलेर तिर्ने , ७ किचन शियर अर्थात सामान्य घरमा घरभेटी सगै बस्ने. र पैसा तिरेर खाने । ८ होस्टल सभिस अर्थात कसैको ब्यावसायिक होस्टेलमा अन्जान पाहुनासग मिलेर बस्ने , ९ एयर बिएण्डबी अथार्त कसैको घरको चुलो प्रयोग गरेर आफै पकाएर खाने बस्ने, १० होमस्टे अर्थात ग्रामिण परिवेशमा कसैको घरमा पेइड.गेष्ट भै बस्ने खाने आदी । नेपालमा गाउ पर्यटनको रुपमा माथिका अरु भन्दा होमस्टेको प्रचलन अत्याधिक पाइन्छ ।
नेपालमा होमस्टेको शुरुवात २०५४ साल देखी स्याड.जाको सिरुबारीबाट शुरु भएको हो । अहिले नेपालभर झण्डै २ हजार होमस्टे सञ्चालनमा छन । नेपालीमा घरमा बास बस्नु भन्ने शब्द नै होम स्टे हो । जस अनुसार गाउघरको वातावरणमा सोही ठाउको स्थानिय उत्पादन उपभोग गरेर गाउले तरिकाले बस्ने र बसे खाए बापत केही रकम दिने होमस्टेको अर्थ हो । होमस्टे समुदायले सञ्चालन गरेको हुन्छ भने यसबाट आर्थिक उपार्जन साथै एकतामा बृद्धि र चेतनाको बिकास हुने लक्ष्य राखिएको हुन्छ । यसले आफ्नो स्थानिय सस्कृती, उत्पादन र प्राकृतिक एवं घुम्न योग्य स्थानको प्रचारप्रसार पनि गरेको हुन्छ । होमस्टे सञ्चालन गर्ने नियम तथा कार्यबिधीहरु हुन्छन जस्ले पाहुनाको सेवा, सुबिधा र समुदायको फाइदाहरुका प्रावधान राखिएको हुन्छ । होमस्टे भन्ने बित्तिकै गाउघरको पैसा तिरेर बस्ने बसाइ सम्झिन्छ भने सफा वातावरणमा स्थानिय परिकार र ब्यवस्थित गाउले सुबिधाको सामुदायिक सेवा भन्ने बुझिन्छ । सफा भान्सा, सफा बाथरुम टवाइलेट, शान्त वातावरण र सफा कोठा , आरामदायी बेडबिस्तारा, अर्गानिक,स्वस्थ्यकर खाना र मिठो ब्यावहार नै होमस्टेका बिषेशता हुन । पाहुना आउदा फुलमालाले स्वागत, परिचय कार्यक्रम, साझमा सास्कृतिक कार्यक्रम, फर्किदा बिदाई होमस्टेका अर्का बिषेशता हुन । यिनै होमस्टेको ब्यवस्थित बिकास र सहयोगका लागि गाउ पर्यटन प्रर्बधन मञ्च भिटोफ बनाइएको छ यस संस्थाका अध्यक्ष पोखराका तारानाथ पहारी हुन ।


आपस्वारा दलित होमस्टे
ब्यास नगरपालिका, तनहूको दमौलि नजिकैको आपस्वारा गाउमा कुल ४२ घर दलित छन । अधिकांस बिश्वकर्मा र केही सुनार रहेको यो गाउमा घरहरु छिरलिएर रहेका छन । नजिकै मगर गाउ तथा क्षेत्री गाउ छ भने केही ब्रामणहरु पनि छन । गाउको माझ सिरानमा थानीमाइको मन्दिर छ । नेपालमा २०४६ को बहुदलिय ब्यवस्थाको थालनी सगै जातजाती बिचको छुवाछुत प्रथा कानूनत निषेध गरियो । त्यसैको प्रभाव गाउघरमा पनि पर्न थाल्यो भने पुर्खा परम्परा देखी चलिआएको रिती प्रथा मान्नेहरु र आधुनिक समाजमा छुवाछुत एक अमानविय र गैरकानूनी क्रियाकलाव हो भन्ने बिच ठाउठाउमा द्धन्द्ध भएको पाइन्छ । यहा पनि यसै मन्दिरमा प्रवेश गर्ने बिषयमा माथिल्ला जाती भनिने क्षेत्री तथा मगर र दलित समुदाय बिच टकराव भयो । आज भन्दा झण्डै १७ वर्ष अगाडी भएको यो संघर्षले अव हामी दलित पनि एक जुट हुनु पर्ने रहेछ र आफ्नो समुदायको चेतना स्थर माथी लैजानुपर्ने रहेछ भन्ने ज्ञान आयो । फलस्वरुप दलित समुदायका सवै मिलेर आपस्वारा दलित गुठीको स्थापना गरे । यही एकताको फलले खुसी भएका उनीहरुले २०७३ सालमा केही बिकासे संस्था र समाजसेवी ब्याक्तीको मद्धतले होमस्टे सञ्चालन गरेका थिए । शुरुमा ९ घरबाट शुरु भएको यो होमस्टे अहिले १८ घर संलग्न छन भन्छन यस होमस्टेका अध्यक्ष रेसम बिश्वकर्मा । उनीहरुको लक्ष्य ४२ घरमा नै पुर्याउने छ तर पाहुनाहरुको आगमनमा कोरोना र दलित भन्ने शब्दबाट नै तर्सिने केही नेपाली सामाजिक मान्यताले फस्टाृन नसकेको बताउछन । तर पनि प्रतेक होमस्टे घरमा जाने बाटो ढुड.गाले छापिएको छ , प्रतेक घरमा बाथरुम टवाइलेट छ अनी भान्साकोठा छुट्टै र सफा छ । प्रतेक घरमा वाइफाइ सुबिधा तथा मोबाइल चार्ज सुबिधा छ । सुत्ने कोठा बिस्तारा सफा छन । हामीले होमस्टे सञ्चालनका सवै मापदण्ड, कार्यबिधी पालना गरेका छौ ।
भारतको मुम्बइमा लामो समय क्याटरिड.को काम गरेका टोपबहादुर सुनार पनि यसै होमस्टेका एक सदस्य हुन । होमस्टेमा आउने पाहुनाका कारण आर्थिक उपार्जन साथै गाउको बिकास र गाउलेको चेतनाको बिकास पनि यो होमस्टेले भएको बताउछन । उनकै श्रीमती निरा पनि होमस्टेमा आउने फरक फरक पाहुनाहरुसगको चिनजान परिचयले शहरका मान्छे कस्ता हुदा रहेछन बानी ब्याहोरा अनी कुरा के हुदोरहेछ थाहा पाउने अवसर मिलेको छ भन्छिन ।
होमस्टे कि कोषाध्यक्ष तथा दलित आम्दोलन कि अभियान्ता मधुमाया बि क एक राजनैतिक कार्यकर्ता पनि हुन । उनैको अगुवाइमा मन्दिर प्रबेश आम्दोलन र गुठी स्थापना भएको थियो । उनी भन्छिन आवस्वारा दलित गुठी र आपस्वारा दलित होमस्टे बनाउनु पहिले दलित दलितहरु बिच झैझगडा हुने, चाडबाडमा रक्सी खाएर मारपिट हुने, गाउघर फोहर हुने , बाटाघाटा त्यती सफा नहुने , पढ्नु पर्छ भन्ने चेतना त्यती नभएको अवस्था थियो । अहिले यो होमस्टे र यसै मार्फत आएका बिभिन्न कार्यक्रमले गाउ सफा छ, घरभित्रको सरसफाइमा खास ध्यान दिन्छन, गाउमा एक होमस्टे देखि अर्कोमा जाने बाटो ढुड.गा छापिएको छ । प्रतेक घर, भान्सा र चर्पी सफा छन,घरघरै पानीका धारा छन, गाउमा दलितको एकता छ झैझगडा कम छ । बिद्यालय जाने उमेरका सवै स्कुल जान्छन गाउमा बिकास र परिर्वतन आएको छ । यहाका दलित समुदायको घर, परिवार र समाज कुनै गैरदलित समुदायको भन्दा कम छैन बरु अझ उत्कृष्ठ छ ।
वास्तवमा यस दलित होमस्टेका सदस्यले भने झै हामीले पनि त्यो महसुस गर्यो । यो होमस्टे अन्य राम्रै होमस्टे भन्दा कुनै केही कमी छैन । बरु यहा पाइने आत्मिय आथित्यता बिरलै अरु होमस्टेहरुमा पाइएला । खासगरी प्राय वढी प्रचलनमा आएका चर्चित होमस्टेहरु अति ब्यवासायिक मात्र भएर सेवा सुबिधा भन्दा केवल पैसा कमाउने उदेश्यमात्र राखेको देखिन्छ तर यहा ब्यावसाहिकता भन्दा पाहुनालाई स्वागत गर्न पाएकोमा बढि खुसी भएको पाइन्छ यो हार्दिकताको नै उनीहरुको बलियो पक्ष हो । छुवाछुत जन्य सामाजिक अपराध बिरुद्धको ऐक्यबद्धता जनाउन, गाउलेको सुख, दुखमा जानाकार हुन र गाउ पर्यटनमा लागेका दलित समुदायलाई उत्साहित बनाउन यो दलित बस्तीमा काब्य यात्रा कार्यक्रम आयोजना भएको कार्यक्रमका संयोजक अमृत भादगाउलेले बताए । हामी २७ जनाको टोलीमा रहेका कवी , लेखक र पत्रकारले आफ्ना अनुभूती बाढ्यौ । कवीले कवीता भने कसैले अनुभव त कसैले गित गाए कोही नाचे । निकै रमाइलो भयो । कन्सेप्ट नेपालले स्थानियलाई सन्मान गर्ने कार्यक्रम पनि राखेको थियो । स्थानिय ४ जना ब्यावसायि उद्यमीलार्ई नगद रु १० हजारको दरले सन्मान गरिएको थियो । सन्मानित हुनेहरुमा माटोको गहना बनाउने मेनुका बि क, मादल बनाउने सुन्दर बि क, आरनको काम गरेर गाउमा सेवा पुर्याउने दिलबहादुर बिक र पर्यटकका लागि उपहार सानो डोको बुन्ने तुलसी मगर थिए ।


हाम्रो समाज
नेपालको १३ प्रतिसत जनसंख्या दलित समुदायको छ जुन समुदाय नेपालको पूर्व मेची देखी पश्चिम महाकाली र हिमाल, पहाड अनी तराइ सवै ठाउमा छन । दुखको कुरा यिनै छरिएर रहेका समुदाय अन्य समुदायको तुलनामा सामाजिक रुपमा अपहेलित र आर्थिक, अवस्थामा कमजोर छन । शैक्षिक चेतनाको कमी छ भने राजनैतिक रुपमा पनि न्युन सहभागिता छ । पुरानो धर्म सस्कार अनुसारको श्रम बिभाजनका आधारमा भएको पेशा छनोटको स्वतन्त्रता नभएका कारण दलितहरु पछी परेको समाजशात्रीहरु बताउछन । बास्तवमा देशको बिकास गर्न यि दलित समुदायको उत्थान र बिकास हुनै पर्छ । दलित समुदायको अवस्था सुधार गर्न पहिलो जातिय बिभाजनले भैआएको पेशागत छनोटमा स्वतन्त्रता हुनु पर्छ । दोश्रो आफुले रोजेको पेशामा राम्रो आम्दानी, तेश्रो पेशागत भेदभावको अन्त्य, चौथो भूमी स्वामित्वको प्रभावको कमी, पाचौ छुवाछुत एवं उचनिचताको अन्त्य छैठौ ब्रामणबादिय दृष्टिकोणको आलोचना, सातौ शिक्षा र सामाजिक चेतनाको बिकास आठौ राज्य वा राजनीति र समग्र निति निर्माण तहमा दलितको प्रतिनिधित्व आदी छन । नेपालमा बहुदलिय ब्यावस्थाको शुरुवात सगै जातिय ब्यावस्थाका प्रथा, परम्परा र सस्कृती सुधार हुदै गएको छ । पुरानो रुढिबादी नेपाली समाज सुुधारउन्मुख छ तर अरु धेरै कार्य बाकि छ । खासमा उपेक्षित वर्गले यो मेरो राज्य हो, मेरो समाज हो र सवै सरह म तथा मेरो समुदाय पनि समान छ र हो भन्ने भावनाको बिकास हुने कामको थालनी यस्ता होमस्टे जस्ता कार्यक्रमले गराउने छ ।