जेठ २८ गते २०७९

पोखराको ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सारिने

पोखरा, २८ जेठ ।
पोखरामा रहेको ल्याण्डफिल्ड साइट हटाउनुपर्ने बाध्यता रहेको छ । अन्र्तराष्ट्रिय विमानस्थल बनेपछि विमानस्थल नजिकै ल्याण्डफिल्ड साइट रहेकोले हटाउन लागिएको हो । महानगरपालिकाको पहिलो कार्यपालिका बैठकबाट ल्याण्डफिल्ड साइट पोखरा ३३ मा सार्ने निर्णय गरेको छ । त्यसका लागि आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार तयार पार्ने निर्णय पनि कार्यपालिका बैठकले गरेको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सम्पन्न भइसक्दासमेत उचित व्यवस्थापन हुन नसकेर समस्याको रुपमा रहेको ल्याण्डफिल्ड साइटलाई महानगरले प्राथमिकतमा राखेर सो निर्णय गरेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले जानकारी दिनुभयो ।

बैठकले पोखरामा एक वर्षभित्रमा विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने पनि निर्णय गरेको छ । निजी क्षेत्रसंग सम्झौता गरि बैंक, होटल, विभिन्न सङ्घ सस्था र रेष्टुराँका शौचालय सर्वसाधारण नागरिकका लागि प्रयोग गर्ने निर्णय भएको छ ।

सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, आगलागी तथा विभिन्न घटनामा तत्काल जनशक्ति परिचालन गर्ने गरी पूर्वाधार महाशाखाको क्षमता विकास गर्ने र कर्मचारीसमेत भर्ना गरेर सेवामा प्रभावकारिता ल्याउने कार्यपालिका बैठकले निर्णय गरेको छ ।

बैठकले छाडा चौपाया सडकबाट हटाउने र ढल तथा नाला सफाइ अभियान चलाएर व्यवहारिक रुपमा आपत्कालीन सेवा तत्काल गर्ने निर्णय भएको छ । पोखराका खाल्डाखुल्डी पुर्नसमेत तत्काल जनशक्ति परिचालन गरिने भएको छ । त्यसैगरी महानगरले तालचोक–बेगनास सडकको निर्माणको ठेक्का बोलपत्र स्वीकृत गरेको रिजालले जानकारी दिनुभयो । त्यस्तै झण्डै तीन किलोमिटरको चार लेन सडक निर्माणका लागि विश्व बैंकले सहयोग गर्ने भएको छ ।