फागुन ११ गते २०७७

शिक्षक हत्या आरोपमा विप्लवका जिल्ला इन्चार्ज थुनामा

मोरङ, ११ फागुन ।

शिक्षक हत्या आरोपी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका मोरङ इन्चार्ज ३२ वर्षीय डिबी सिलवाल भनिने धनबहादुर विकलाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

मोरङको मिक्लाजुङ गाउँपालिका–१ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्या आरोपमा न्यायाधीश कपिलमणि गौतमको इजलासले संखुवासभाको मादी नगरपालिका–४ ओखरबोटे घर भएका विकलाई सोमबार थुनामा राख्न आदेश दिएको हो । आदेशपछि उनी कारागार चलान भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए । ‘पछि ठहरे बमोजिम हुने गरी तत्काल प्राप्त प्रमाणका आधारमा निज प्रतिवादी दोषी छैनन् भन्नसक्ने अवस्था नभएकाले थुनामा राखेर घटनाको बाँकी अनुसन्धान अघि बढाउनूू,’ आदेशमा भनिएको छ । शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा उनीविरुद्ध प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो ।

अनुसन्धान सकेर प्रहरीले मिसिल बुझाएपछि पक्राउ परेका विक र फरार रहेका समूहका महासचिव चन्दसहित ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अघिल्लो आइतबार अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।