चैत्र २३ गते २०७८

कंगोमा मारिएका नेपाली शान्ति सैनिकको परिचय खुल्यो

चैत २३ , काठमाडौँ । 

अफ्रिकी मुलुक कंगोमा विद्रोहीको आक्रमणबाट मारिएका नेपाली शान्ति सैनिकको परिचय खुलेको छ। 

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार मंगलबार विद्रोहीको आक्रमणमा परी सुर्खेतको गुर्माकोट घर भएका सिपाही अनिल गुरुङ मारिएका हुन्। 

नेपाली सेनाका प्रवक्ता नारायण सिल्वालका अनुसार गुरुङ संयुक्त राष्ट्रसंघको आह्वानमा कंगोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफ्फमा कार्यरत थिए।

‘अपरेसन बाली’का क्रममा मंगलबार नेपाली शान्ति सेनाको टोलीलाई विद्रोही मिलिसियाले आक्रमण गरेको हाे। प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा सञ्चालित खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिसनमा कार्यरत शान्ति सैनिक गुरुङ घाइते भएका थिए। उनलाई हेलिकप्टरमार्फत उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा भर्ना गरिएको थियो तर उपचारका क्रममा उनकाे निधन भएकाे नेपाली सेनाले जनाएकाे छ।