पौष १४ गते २०७८

पोखरा सडक महोत्सवको तयारी पुरा, भोली उद्घाटन


१४ पुष,पोखरा
रेष्टुरेष्ट एण्ड बार एसोसियसन रेबान पोखराले आयोजना गर्ने २३ औं संस्करणको पोखरा सडक महोत्सवको तयारी पुरा भएको छ । भोलीदेखि शुरु हुने महोत्सवको तयारी पुरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

महोत्सवको उद्घाटन कार्यक्रममा २५ भन्दा बढी बाजागाजा सहित साँस्कृतिक समूहको सहभागिता रहने महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए । उनका अनुुसार महोत्सव स्थलमा ३० भन्दा बढी हस्तकलाको स्टल रहनेछ । ३ दिन सम्म चल्ने महोत्सवमा कोमागाने पार्कभित्र हुने कार्यक्रमका लागि भने टिकट शुल्क लाग्ने उनले बताए । उनका अनुसार दिउसोको लागि ५० रुपैया र बेलुका कन्सर्टको लागि १ सय रुपैयाँ प्रवेश शुल्क लाग्नेछ ।

संयोजक भट्टराईले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी प्रतियोगिता, झाँकि प्रदर्शन, रात्रिकालिन कन्सर्ट, डुङ्गा दौड, ह्वीलचियर दौड, वेटर रेस, टग अफ वार जस्ता प्रतियोगितात्मक आकर्षणहरुको व्यवस्था गरि आयोजक समितिले महोत्सवलाई भव्य रुपमा सफल पार्ने आशा लिएका छौ । महोत्सव अवलोकनमा आउनेहरुको सहजताका लागि रात्रिकालिन बस सेवाको पनि व्यवस्था गरिने छ । यसपटकको महोत्सवमा पनि अघिल्लो पटकको जस्तै हेल्थ प्रोटोकललाई विशेष ध्यानमा राखिने छ । यसका लागि विभिन्न स्थानमा हेल्थ डेष्क, मास्क तथा स्यानिटाइजर जस्ता सुरक्षाका उपायहरु अपनाइने छ ।’