पौष ४ गते २०७८

पेन्सन अवधि १६ वर्ष बनाउने नेपाल प्रहरीको तयारी

काठमाडौं, ४ पुष । सरकारले नेपाल प्रहरीमा न्यूनतम पेन्सन अवधि १६ वर्ष बनाउने तयारी गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएर प्रशासन समितिमा छलफलका क्रममा रहेको प्रहरी नियमावली संशोधन गरेर यससम्बन्धी प्रावधान राख्न लागिएको हो । 

तल्लो तहका प्रहरीको मागअनुसार प्रहरी प्रधान कार्यालयले पेन्सनका लागि न्यूनतम सेवाहदको प्रावधान १६ वर्ष राख्ने प्रस्ताव अघि बढाएको हो । सेनामा पनि गत वर्ष यो प्रावधान लागू भइसकेको छ । १६ वर्षमा स्वेच्छिक अवकाश रोज्न पाइने, तर भर्ना भएको २० वर्षपछि मात्र पेन्सन लिन पाउने गरी नियमावली संशोधन गर्न छलफल भइरहेको गृह मन्त्रालयका एक अधिकारीले बताए । सेनामा पनि सोही सर्तसहित १६ वर्षे प्रावधान लागू गरिएको थियो ।