मंसिर ५ गते २०७८

ज्येष्ठ नागरिक सरोकार समाज, नेपाल कास्कीको अध्यक्षमा पुनः भक्तराज


पोखरा ४, मंसिर
कमल पौडेल अथक


ज्येष्ठ नागरिक सरोकार समाज, नेपाल कास्कीको अध्यक्षमा पुनः भक्तराज श्रेष्ठ चुनिएका छन् । समाजको चौथो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । समाजको उपाध्यक्षमा केशवप्रसाद ढकाल, महासचिवमा विष्णुप्रसाद पौडेल, सचिवमा ईच्छाबहादुर वाग्ले र कोषाध्यक्षमा रामजीप्रसाद कोइराला चयन भएका छन् ।
सदस्यमा सूर्यप्रसाद ओझा, भीमबहादुर पौडेल, हरिप्रसाद फँुयाल, त्रिभुवन शर्मा, उत्तम जोशी, नन्दप्रसाद बराल चयन भएका छन् । यसैगरी महिला सदस्यमा पार्वता पौडेल र प्रा डा सरस्वती शर्मा न्यौपाने सर्वसम्मत चयन भएका छन् ।
यसअघि ११ सदस्यीय कार्यसमिति रहदै आएको संस्थामा यो पटक विधान संशोधन गरेर १३ सदस्यीय वनाईएको उपाध्यक्ष केशवप्रसाद ढकालले जानकारी दिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले ज्येष्ठ नागरिक देशका अमूल्य सम्पति भएको बताएका छन् । जीबनमा उनीहरुले सिकेको सीप नयाँ पुस्ताले अनुशरण गर्न सके समाजलाई फाइदा हुने उनले वताए । कुँवरले समाजको लागि प्रदेश सरकारले सहयोग गर्दै आइरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सो अवसरमा संस्थाले ७५ वर्षदेखि ९९ वर्षसम्मका ४६ जना ज्येष्ठ नागरिकलाई सम्मानपत्र, दोसल्लासहित सम्मान गरेको छ । कार्यक्रममा ९ जना अक्षयकोष दाताहरुलाई पनि सम्मान गरिएको थियो । संस्थाले हरेक वर्ष ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्दै आएको उपाध्यक्ष केशवप्रसाद ढकालले जानकारी दिए ।
हाल कास्कीको पुरञ्चौरमा शाखा संञ्चालन गर्दै आएको संस्थाले छिट्टै नै तनहुँ र भक्तपुरमा शाखा चलाउने जानकारी दिएको छ ।
समाजले शनिबार वार्षिक मुखपत्र ज्येष्ठ नागरिक आवाज आठौं अंक पनि विमोचन गरेको छ । सो पुस्तकको परिचय सम्पादक मण्डलका सदस्य त्रिभुवन शर्माले गराएका थिए ।
साधारणसभाले सचिव इच्छाबहादुर वाग्लेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद भण्डारीको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको सचिव इच्छावहादुर वाग्लेले जानकारी दिएका छन् । सो अवसरमा बालगोपाल अमात्यले ५० हजार र भागरथी श्रेष्ठले ५० हजार ५ सयको अक्षयकोष स्थापना गरेका छन् ।