मंसिर १ गते २०७८

फेवातालको चारकिल्ला निर्धारण समितिको प्रतिवेदन सार्वजनिक

पोखरा ३०, कार्तिक
कमल पौडेल अथक


फेवाताल चारकिल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिले फेरि फेवातालको चारकिल्ला निर्धारण गरेको छ । समितिले मंगलवार पोखरामा पत्रकार सम्मेलन गरी फेवातालको चारकिल्ला सार्वजनिक गरेको हो ।
पूर्व जिविस सभापति एवं एमाले नेता पुण्य पौडेलको संयोजकत्वमा गठित समितिले तालभित्रको दुषित जग्गाको समेत पहिचान भएको जानकारी दिएको छ । तालको बाँध फुटेको बेला २ हजार ५ सय रोपनी जग्गा दुषित रुपमा दर्ता गरेर हकभोग गरेको समितिले निश्कर्ष निकालेको छ ।
संमिति संयोजक पौडेलले भने–विभिन्न ८ सय ८१ कित्ता व्यक्तिको नाममा दर्ता भएको पायौं । फिल्डबुकमा दर्ता भएका ९ सय १६ रोपनी ८ आना, मालपोतबाट छुट दर्ता भएको ४ सय ७७ रोपनी १२ आना रहेछ । त्यस्तै हुकम प्रमांगीबाट दर्ता भएको १ रोपनी ८ आना, सरकारको नाममा कायम भएको ९ सय ७ रोपनी १३ आना छ पौडेलले भने । अदालतको फैसलाबाट दर्ता भएको ८३ रोपनी ६ आना तथा दर्ता बाँकी भएको १ सय ३३ रोपनी ९ आना जग्गा तालको सीमाभित्र पर्ने देखिया उनले थपे ।
फेवातालको पानी भित्रको जमिनमा पनि व्यक्तिले तीरो तिर्दै आएकोले सरकारले उपयुक्त कदम चाल्नु पर्ने उनले सुझाव दिए ।
नयाँ अध्ययन अनुसार तालको क्षेत्रफल ५.७२६ वर्ग किलोमिटर अर्थात् ११ हजार २ सय ५५ रोपनी ११ आना १ पैसा कायम रहने देखाईएको छ । यो सँगै समितिले तालको पेरिफेरिमा ७६ अर्ब ७७ करोड लगानी गर्ने गरी फेवाताल गुरुयोजनाको प्रस्ताव तयार पारेको छ ।
कुनै बेला २२ हजार रोपनी क्षत्रफल भनिएको फेवाताल अहिले आएर त्यसको आधा क्षेत्रफलमा सीमित भएको छ ।