भाद्र १४ गते २०७८

माधव नेपालसँग मिल्न वामदेव गौतमका तीन सर्त

काठमाडौं,१४ भदौ । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा एकीकृत समाजवादी पार्टीमा खुल्न दुई अध्यक्ष हुनुपर्ने शर्तसहित तीन बुँदे लिखित प्रस्ताव राखेका छन्।

नवगठित पार्टीमा दुई अध्यक्ष पद राखेर एउटामा आफूलाई कायम गर्नुपर्ने अडान प्रस्तावमा गौतमले राखेका हुन्। समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई केही दिनअघि सहमतिको खाका पठाएर उनले पार्टीमा सहभागी हुन तीन बुँदे प्रस्ताव राखेको स्रोतले जनाएको छ।

तर, वामदेवको उक्त प्रस्तावलाई अध्यक्ष नेपालले स्वीकार गरिसकेका छैनन्। बरु नेपालले गौतमको प्रस्तावबारे पार्टीमा छलफल गरेको जवाफ दिँदै साथीहरुले अस्वीकार गरेको जवाफ दिएका छन्।

नवौँ महाधिवेशनबाट निर्वाचित एमाले उपाध्यक्ष भए पनि गौतम पछिल्लो समय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा सहभागी भएका छैनन्।